हेडलाईनसमाचारगण्डकीबागमती

संविधान दिवस : अधिकारको दस्तावेज बनेको संविधान सम्झिँदै देशभर विविध कार्यक्रम

प्रहार समाचार । तनहुँ, ३ असोज २०८३ शनिबार । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संवैधानिक यात्राको महत्वपूर्ण दिनका रूपमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ मनाइँदैछ। २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहित नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिएको हो।

संविधान जारी भएको एक दशकको यात्रालाई स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम आयोजना हुँदैछन्। संघीय सरकारको आयोजनामा हुने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ अधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहने गर्दछ। दिवसका अवसरमा राष्ट्रिय झण्डा सजावट, प्रभातफेरी, दीप प्रज्ज्वलन, सरसफाइ तथा अन्य सिर्जनात्मक कार्यक्रमसमेत आयोजना हुँदै आएका छन्।संविधान दिवस संघीय राजधानीमा मात्र सीमित नभई प्रदेश तथा स्थानीय तहसम्म विस्तार भएको छ। प्रदेश सरकार, स्थानीय सरकार, राजनीतिक दल, नागरिक समाज तथा विभिन्न संघसंस्थाले आ–आफ्नै कार्यक्रममार्फत दिवस मनाउँदैछन्।

दिवसका अवसरमा राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गर्दै संविधानको संरक्षण, कार्यान्वयन र यसको मर्मअनुसार राज्य सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। २०७२ असोज ३ गते जारी नेपालको संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा संस्थागत गर्दै संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको राज्य संरचना स्थापित गरेको छ। संविधानले मौलिक हक, समावेशिता, समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय तथा नागरिकका विभिन्न अधिकारलाई संवैधानिक आधार प्रदान गरेको छ। त्यसैले संविधान दिवस केवल एउटा ऐतिहासिक दस्तावेज जारी भएको दिनको सम्झना मात्र नभई संविधानले प्रत्याभूत गरेका अधिकार र जिम्मेवारीलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्‍याउने अवसरका रूपमा समेत मनाइँदैछ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button