हेडलाईनव्याससमाचारगण्डकी

आज र भोलि संविधान दिवस मनाइँदै : प्रभातफेरिदेखि दीप प्रज्ज्वलनसम्म

प्रहार समाचार । तनहुँ, २ असोज २०८३ शुक्रबार । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ लाई नागरिक सहभागितासहित उत्सवका रूपमा मनाउन तनहुँको सदरमुकाम दमौलीमा आज र भोलि विविध कार्यक्रम आयोजना गरिँदैछ। जिल्ला समन्वय समिति तनहुँको हिंजो बसेको तयारी बैठकले आज र भोलि कार्यालय सरसफाइदेखि राष्ट्रिय झण्डा सजावट, प्रभातफेरी, शुभकामना आदानप्रदान र दीप प्रज्ज्वलनसम्मका कार्यक्रम तय गरेको हो।

दिवसको अवसरमा सरकारी निकाय, प्रतिष्ठान तथा संघ–संस्थाका कार्यालयमा राष्ट्रिय झण्डा राखेर सजाउन तथा साँझ घर तथा कार्यालयमा दीपावली गर्नसमेत आह्वान गरिएको छ। दिवसको मुख्य कार्यक्रम भोलि बिहानदेखि सुरु हुनेछ। बिहान ७ः३० बजे प्रशासन चोकस्थित अनशन चौतारीमा झण्डोत्तोलन गरिनेछ भने त्यसलगत्तै ७ः४५ बजे प्रशासन चोकबाट सफासडक हुँदै व्यास नगरपालिकाको कार्यालयसम्म प्रभातफेरी निकालिनेछ। बिहान ८ बजे व्यास नगरपालिकाको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम हुनेछ। साँझ ७ बजे भने प्रशासन चोकमा जेसीआई व्यास नगरको संयोजन तथा लियो र रोटर्‍याक्टको सहकार्यमा दीप प्रज्ज्वलन गरिने कार्यक्रम तय गरिएको छ।दिवसका कार्यक्रमलाई व्यवस्थित र व्यापक बनाउन जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको संयोजकत्वमा ‘संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ जिल्ला समारोह समिति’ गठन गरिएको छ।

समितिमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ नाथ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी सहित जिल्लास्थित स्थानीय तह, राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालय, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, रेडक्रस, बार एसोसिएसन र खेलकुद क्षेत्रका प्रतिनिधि सहभागी छन्। जिल्ला समन्वय अधिकारी शिवप्रसाद रिजाल सदस्य–सचिव रहेको समितिले नागरिक समाज, राजनीतिक दल, संघ–संस्था, राष्ट्रसेवक कर्मचारी तथा सम्पूर्ण जिल्लाबासीलाई निर्धारित कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button