प्रहार समाचार । तनहुँ, १ असोज २०८३ बिहीबार । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा तनहुँ सदरमुकाम दमौलीमा दुई दिनसम्म विविध कार्यक्रम सञ्चालन हुने भएको छ। जिल्ला समन्वय समिति तनहुँको आज बसेको तयारी बैठकले असोज २ र ३ गते कार्यालय सरसफाइ, राष्ट्रिय झण्डा सजावट, प्रभातफेरी, शुभकामना आदानप्रदान तथा दीप प्रज्ज्वलनलगायतका कार्यक्रम तय गरेको हो। तस्बिर : सम्पादन एआई

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको संयोजकत्वमा ‘संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ जिल्ला समारोह समिति’ गठन गरिएको छ। समितिमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ नाथ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित स्थानीय तहका प्रमुख, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, रेडक्रस, बार एसोसिएसन, खेलकुद विकास समिति लगायतका प्रतिनिधि सदस्य रहेका छन्।
जिल्ला समन्वय अधिकारी शिवप्रसाद रिजाल सदस्य–सचिव तोकिएका छन्।निर्णयअनुसार असोज २ र ३ गते सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघ–संस्थाका कार्यालयमा निर्धारित आकारको राष्ट्रिय झण्डा राखेर सजाइनेछ भने असोज २ गते बिहान ८ बजे सरकारी कार्यालयमा सरसफाइ गरिनेछ। असोज ३ गते बिहान ७ः३० बजे प्रशासन चोकस्थित अनशन चौतारीमा झण्डोत्तोलन, त्यसलगत्तै ७ः४५ बजे प्रशासन चोकबाट सफासडक हुँदै व्यास नगरपालिकाको कार्यालयसम्म प्रभातफेरी हुनेछ।
बिहान ८ बजे व्यास नगरपालिकाको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको छ। सोही दिन साँझ ७ बजे प्रशासन चोकमा जेसीआई व्यास नगरको संयोजन तथा लियो र रोटर्याक्टको सहकार्यमा दीप प्रज्ज्वलन गरिनेछ। असोज २ र ३ गते साँझ जिल्लाबासीका घर तथा सम्बन्धित कार्यालयमा दीपावली गर्नसमेत आह्वान गरिएको छ। जिल्ला समन्वय समितिले नागरिक समाज, राजनीतिक दल, संघ–संस्था, राष्ट्रसेवक कर्मचारी तथा सम्पूर्ण सरोकारवालालाई निर्धारित कार्यक्रममा सक्रिय सहभागिताका लागि जिल्ला समन्वय अधिकारी वप्रसाद रिजालले आग्रह गरेका छन् ।

















