प्रहार समाचार । काठमाडौं, १ असोज ३०७३ बिहीबार । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आसन्न पार्टी अधिवेशनमा सहभागी भएर उद्घाटन गरिदिन आग्रह गरेका छन्। थापाले देउवाको सहभागितालाई आफूहरूका लागि सम्मानको विषय हुने भन्दै पार्टीभित्रको नयाँ पुस्तालाई एकताबद्ध गरेर अघि बढ्ने सन्देश दिएका हुन्।

थापाले देउवा अब पुनः पार्टी सभापति बन्ने अवस्था नरहेको उल्लेख गर्दै अधिवेशनबाट नयाँ सभापति चयन हुने बताए। उनले भने, “कतिपय साथीहरूले भन्नुभएको छ, पर्सि हाम्रो अधिवेशन छ। अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिनु हाम्रो लागि ठूलो सम्मानको विषय हुन्छ।”उनले कांग्रेसभित्र नयाँ पुस्ताका नेता–कार्यकर्ता आइसकेको उल्लेख गर्दै आफूहरूले हुर्काएका र सिकाएका सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए।
“हामी सबै एकठाउँमा आएर जानुपर्छ,” भन्दै थापाले अन्य नेताहरूलाई समेत यस विषयमा सोच्न आग्रह गरे।सभापतिको जिम्मेवारीमा रहेसम्म आफू पार्टीलाई थप समेटेर अघि बढाउन आवश्यक लचकता अपनाउन तयार रहेको पनि थापाले बताए। पार्टीभित्रको एकता कायम गर्दै सबैलाई साथ लिएर अघि बढ्ने विषयमा आफूले आफ्नोतर्फबाट आवश्यक काम गर्ने उनको भनाइ छ।

















