प्रहार समाचार । तनहुँ, ३१ भदौ २०८३ बुधबार । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिपेन्द्र घर्ती क्षेत्रीले आज तनहुँको भिमाद नगरपालिका–१ किहुँस्थित प्रहरी चौकी किहुँको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । नवनिर्मित भवनको उद्घाटन गर्दै डीआईजी क्षेत्रीले भौतिक पूर्वाधारको विकाससँगै नागरिकलाई छिटो, सहज र प्रभावकारी प्रहरी सेवा उपलब्ध गराउन प्रहरी संगठन प्रतिबद्ध रहेको बताए ।

उनले प्रहरी र नागरिकबीचको सहकार्य तथा विश्वासलाई अझ मजबुत बनाउँदै शान्ति–सुरक्षा कायम गर्न स्थानीयस्तरमा प्रहरीको उपस्थितिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ब.उ. श्यामकृष्ण अधिकारीले प्रहरी चौकीको नयाँ भवनले प्रहरी कर्मचारीलाई सुरक्षित र व्यवस्थित रूपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्नुका साथै स्थानीय नागरिकलाई समेत सहज रूपमा प्रहरी सेवा लिन सहयोग पुग्ने बताए । उनले अपराध नियन्त्रण, शान्ति–सुरक्षा र नागरिकमैत्री प्रहरी सेवाका लागि स्थानीय समुदायसँग निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्रहरीको कामलाई प्रभावकारी बनाउन नागरिकको सहयोग महत्वपूर्ण हुने बताए ।

उद्घाटन कार्यक्रममा तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की, विशेष सुरक्षा गण बेलचौतारा तनहुँका प्रहरी उपरीक्षक महेश थापा, प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक श्यामु अर्याल, राष्ट्रिय अनुसन्धान कार्यालयका उप–अनुसन्धान निर्देशक मनोज ढकाल, भिमाद नगरपालिका–१ का वडाध्यक्ष दीपक आले, वडा नं. ६ का वडाध्यक्ष श्यामसुन्दर थापालगायत प्रहरी कर्मचारी, स्थानीय आमा समूह तथा भद्रभलाद्मीको उपस्थिति थियो । नवनिर्मित भवनसँगै किहुँ क्षेत्रमा प्रहरी सेवा थप व्यवस्थित, सुरक्षित र नागरिककेन्द्रित हुने अपेक्षा गरिएको छ ।


















