हेडलाईनसमाचारगण्डकी

६ महिनादेखि नवलपुरको घाँगी भीरबाट धुवाँ : गाउँपालिका अध्यक्ष पाण्डेको स्थलगत अनुगमन, कारण अझै रहस्यमै

प्रहार समाचार । नवलपुर, ३१ भदौ २०७३ बुधबार । नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका–६ स्थित घाँगी भीरबाट विगत करिब ६ महिनादेखि निरन्तर धुवाँ निस्किएपछि स्थानीयमा चासो र कौतूहल बढेको छ।

धुवाँ निस्कने क्रम लामो समयदेखि जारी रहे पनि यसको वास्तविक कारण भने अझै पत्ता लाग्न सकेको छैन। धुवाँ निस्किरहेको क्षेत्रको अवस्थाबारे जानकारी लिन हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे स्थलगत रूपमै घाँगी भीर पुगेकी छन्। उनले स्थानीयसँग घटनाबारे जानकारी लिनुका साथै धुवाँ निस्किरहेको स्थानको अवलोकन गरेकी हुन्। अध्यक्ष पाण्डेका अनुसार स्थानीय तथा पुर्खाहरूबाट यस क्षेत्रमा विगतमा पनि यस्तै प्रकृतिको धुवाँ निस्कने गरेको कुरा सुनिँदै आएको छ।

तर अहिले करिब ६ महिनादेखि निरन्तर धुवाँ देखिन थालेपछि यसको वास्तविक कारण पहिचान गर्नु आवश्यक देखिएको उनले बताइन्। गाउँपालिकाले घटनाबारे सम्बन्धित माथिल्लो निकायलाई जानकारी गराइसकेको र आवश्यक अध्ययन तथा प्राविधिक परीक्षणका लागि पहल भइरहेको जनाएको छ। घाँगी भीरबाट निस्किरहेको धुवाँ सामान्य प्राकृतिक प्रक्रिया हो वा जमिनमुनि भइरहेको कुनै भौगर्भिक गतिविधिको संकेत, अथवा अन्य कारणले धुवाँ उत्पन्न भइरहेको हो भन्ने विषयमा यकिन भइसकेको छैन। लामो समयदेखि धुवाँ निस्किरहे पनि वैज्ञानिक तथा प्राविधिक रूपमा यसको कारण सार्वजनिक नभएकाले घाँगी भीरको धुवाँ अहिले पनि रहस्यकै विषय बनेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button