प्रहार समाचार । तनहुँ, २२ भदौ २०८३ सोमबार । रसुवाको भेटेकोशी नदिमा आएको अकल्पनिय बाढीपहिरोको चपेटामा परेर नागरिकको जनजीवन अस्तव्यस्त भइरहेका बेला तनहुँका वरिष्ठ अधिवक्ता एवं समाजसेवी कमला मोहन वाग्लेले विपद्मा राज्यसँगै नागरिकको पनि सामाजिक दायित्व रहने सन्देश दिएका छन्। व्यास नगरपालिका–४, दमौली निवासी वाग्लेले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारको राहत कोषमा ५१ हजार १ रुपैयाँ सहयोग गरेका हुन्।

घरबार र सम्पत्ति गुमाएका तथा आफन्तजन गुमाएर शोकमा रहेका नागरिकको पीडाप्रति ऐक्यबद्धता जनाउँदै वाग्लेले आफ्नो क्षमताअनुसार राहत कोषमा सहयोग गरेका हुन्। उनको सहयोग रकमभन्दा पनि विपद्को कठिन घडीमा पीडितका पक्षमा उभिनुपर्ने सामाजिक जिम्मेवारीको सन्देश महत्वपूर्ण रहेको छ। वाग्लेले विपद्का कारण नागरिकले भोगिरहेको पीडा आफूले पनि महसुस गरेको बताउँदै संकटको समयमा सहयोगी हातहरू अझ बलियो बन्नुपर्नेमा जोड दिए। राज्यको प्राथमिक जिम्मेवारी राहत, उद्धार र पुनःस्थापना भए पनि नागरिक तहबाट हुने सहयोगले प्रभावितको पीडामा मल्हम लगाउन तथा राहत अभियानलाई प्रभावकारी बनाउन थप सहयोग पुग्ने उनको भनाइ छ।
उनले विपद् कुनै व्यक्ति, समुदाय वा क्षेत्रको मात्रै समस्या नभएकाले मानवीय संवेदनाका आधारमा सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए। बाढीपहिरोबाट प्रभावित परिवारको तत्काल उद्धार, राहत वितरण र दीर्घकालीन पुनःस्थापनाका लागि सरकार तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा समेत उनले जोड दिए। ‘विपद्मा पीडितको पक्षमा उभिनु नै मानवताको परिचय हो’ भन्ने भावनासहित सहयोग गरेका वाग्ले सामाजिक सेवामा सक्रिय व्यक्तिका रूपमा परिचित छन्। उनी दमौली अस्पताल विकास समितिका अध्यक्षसमेत हुन्।
देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुर्याइरहेका बेला वाग्लेले गरेको सहयोगले राहत कोषमा आर्थिक योगदान मात्र थपेको छैन, विपद्को समयमा समाजका सक्षम वर्गले पीडित नागरिकप्रति जिम्मेवार बन्नुपर्ने सन्देशसमेत दिएको छ।पीडितका घरमा चुलो निभिरहेका, परिवार विस्थापित भइरहेका र सुरक्षित बासको खोजीमा नागरिक भौँतारिइरहेका बेला गरिएको यस्तो सहयोगले ‘संकटमा सरकारको मात्रै होइन, समाजको पनि साथ आवश्यक हुन्छ’ भन्ने भावना बलियो बनाएको छ।
















