हेडलाईनसमाचारबागमती

सडक र हेलिकप्टरको पहुँच नपुगेका ठाउँमा अब ड्रोनबाट राहत

प्रहार समाचार । नुवाकोट, २० भदौ २०८३ शनिबार । बाढीपहिरोका कारण सडकमार्ग अवरुद्ध भएर राहत सामग्री पुर्‍याउन कठिन बनेका दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा अब ड्रोनमार्फत राहत ढुवानी गर्ने तयारी गरिएको छ। चीन सरकारले नेपाललाई उपलब्ध गराएका चारवटा क्षमतावान ड्रोनमध्ये राहत ढुवानीका लागि प्रयोग हुने ड्रोनको त्रिशूली क्षेत्रमा परीक्षण तथा प्रयोग सुरु गरिएको हो।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार चीन सरकारले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अन्य अत्यावश्यक राहत सामग्री ढुवानी गर्न चारवटा ड्रोन उपलब्ध गराएको छ। ती ड्रोनको अधिकतम भारवहन क्षमता १०० किलोग्राम रहेको छ। व्यावहारिक रूपमा भने एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोकेर लैजान सक्ने गरी प्रयोग गरिने बताइएको छ। बाढीका कारण सडक तथा पुलहरू क्षतिग्रस्त हुँदा कतिपय प्रभावित बस्ती स्थलमार्गबाट सम्पर्कविहीन बनेका छन्। त्यस्ता क्षेत्रमा हेलिकप्टरबाट राहत पुर्‍याउन पनि मौसम, भौगोलिक अवस्था तथा अवतरणस्थलको अभावजस्ता चुनौती देखिँदै आएका छन्।

यस्तो अवस्थामा ड्रोनमार्फत आवश्यक खाद्यान्न तथा राहत सामग्री सिधै प्रभावित क्षेत्रसम्म पुर्‍याउन सकिने भएकाले यसको प्रयोगलाई विपद् व्यवस्थापनमा नयाँ विकल्पका रूपमा हेरिएको छ।त्रिशूलीमा गरिएको परीक्षण सफल भएपछि ड्रोनलाई रसुवालगायत बाढीबाट बढी प्रभावित क्षेत्रमा परिचालन गर्ने तयारी गरिएको छ। सडकमार्गबाट सामग्री पुर्‍याउन लामो समय लाग्ने वा मानवीय तथा भौतिक जोखिम उच्च रहेका स्थानमा ड्रोनले छोटो समयमा राहत पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।विशेषगरी खाद्यान्न, औषधि तथा तत्काल आवश्यक पर्ने हलुका राहत सामग्री प्राथमिकताका आधारमा ड्रोनमार्फत ढुवानी गर्न सकिनेछ।

यसले विपद्को समयमा उद्धार तथा राहत व्यवस्थापनमा प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।त्रिशूली क्षेत्रमा भइरहेको परीक्षणसँगै बाढी प्रभावित नागरिकसम्म राहत पुर्‍याउने अभियानमा चिनियाँ ड्रोनको प्रयोग व्यावहारिक रूपमा अघि बढेको छ। सडक र हवाई दुवै पहुँच कठिन बनेका स्थानमा आकाशबाट राहत सामग्री पुर्‍याउने यो प्रविधि आगामी दिनमा विपद् व्यवस्थापनको महत्वपूर्ण साधन बन्न सक्ने देखिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button