प्रहार समाचार । तनहुँ, २० भदौ २०८३ शनिबार । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित धादिङ र नुवाकोटका ५ सयभन्दा बढी परिवारले दमौली क्षेत्रबाट संकलित राहत सामग्री पाएका छन्। बाढीका कारण घरबार तथा दैनिक उपभोगका सामग्री गुमाएर कठिन अवस्थामा रहेका परिवारलाई लक्षित गरी दमौलीका विभिन्न शुभेच्छुक, सहयोगदाता तथा स्थानीयवासीबाट संकलन गरिएको राहत सामग्री प्रभावित बस्तीमै पुगेर वितरण गरिएको हो।

राहतस्वरूप प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, कपिकलम तथा दैनिक जीवनयापनका लागि आवश्यक भाँडाकुँडालगायत सामग्री वितरण गरिएको दमौलीका अभियन्ता सुदिप गफ्फारले जानकारी दिए। विपद्का कारण आधारभूत आवश्यकतासमेत जुटाउन कठिन भइरहेका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको उनले बताए।

बाढीपछि पीडित परिवारको जीवन सामान्य बनाउन सरकारी तथा विभिन्न निकायबाट राहत र पुनःस्थापनाका प्रयास भइरहेका बेला दमौली क्षेत्रका नागरिकले स्वतःस्फूर्त रूपमा सहयोग जुटाएर प्रभावित क्षेत्रमा पुर्याएका हुन्। विपद्को पीडामा रहेका परिवारलाई मानवीय सहयोगमार्फत साथ दिने उद्देश्यले गरिएको यो अभियानले ‘दुःखमा एकअर्काको साथ’ भन्ने सामाजिक भावनालाई थप बलियो बनाएको अभियन्ता गफ्फारले बताए।
















