व्यासहेडलाईनसमाचारगण्डकी

दमौली बजारका व्यवसायी राहत बोकेर रसुवातर्फ, विपद्मा पीडितको साथमा तनहुँ उद्योग वाणिज्य संघ

प्रहार समाचार । तनहुँ, २० भदौ । बाढीपहिरोबाट प्रभावित रसुवाका नागरिकको पीडामा मलम लगाउन तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई राहत सामग्रीसहित रसुवातर्फ प्रस्थान गरेको छ। विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले दमौली बजारका व्यवसायी, शुभेच्छुक तथा सर्वसाधारणबाट स्वेच्छिक रूपमा संकलन गरिएको राहत सामग्री लिएर इकाई सभापति शेषराज श्रेष्ठको नेतृत्वमा टोली शनिबार रसुवा गएको हो।

टोलीलाई व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बिदाइ गरे।दमौली बजारमै सञ्चालन गरिएको राहत संकलन अभियानमार्फत खाद्यान्नलगायतका राहत सामग्री जुटाइएको इकाईले जनाएको छ। बाढीपहिरोका कारण प्रभावित नागरिकको पीडा कम गर्न आफूहरूले सकेको सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको इकाई सभापति श्रेष्ठले बताए। बिदाइ कार्यक्रममा नगर प्रमुख न्यौपानेले विपद्को समयमा राज्यका निकायसँगै निजी क्षेत्र, व्यवसायी र नागरिक समाजसमेत एकजुट भएर पीडितको उद्धार तथा राहतमा जुट्नुपर्ने बताए। उनले दमौली बजार इकाईले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रसम्म राहत पुर्‍याउन गरेको पहल प्रशंसनीय रहेको उल्लेख गर्दै टोलीलाई सुरक्षित यात्राको शुभकामना दिए।

इकाईका सचिव सिम्रन चन्द ठकुरीका अनुसार राहत संकलन अभियानमा दमौली बजारका व्यवसायी, शुभेच्छुक तथा विभिन्न सहयोगी मनहरूले स्वेच्छिक रूपमा साथ दिएका छन्। “विपद्को पीडामा रहेका नागरिकलाई सकेको सहयोग गर्ने उद्देश्यले दमौली बजारमा राहत संकलन अभियान सञ्चालन गरेका थियौं,” उनले भनिन्, “व्यवसायी, शुभेच्छुक तथा विभिन्न सहयोगी मनहरूले अभियानमा साथ दिनुभएको छ। उहाँहरूको सहयोग र सद्भाव लिएर हाम्रो टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो।” इकाईले संकलित राहत सामग्री वास्तविक पीडितसम्म पुर्‍याउने जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button