प्रहार समाचार । रसुवा, २० भदौ २०८३ शनिबार । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको त्रासदी अझै साम्य भएको छैन। बाढीमा परी हालसम्म १ हजार ३ सय ४४ जनाको शव फेला परे पनि ४ हजार ८ सय ९८ जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ। पछिल्लो अद्यावधिक विवरणअनुसार फेला परेका शवमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका छन् भने थप ५०१ शवका आंशिक अङ्ग मात्र फेला परेका छन्।

प्रहरीका अनुसार बेपत्ता हुनेमध्ये २ हजार ९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक छन्। नेपाली बेपत्तामा २ हजार ४४८ पुरुष र ४८२ महिला रहेका छन्। त्यस्तै, १ हजार ३५० जनाको बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रबाट भने हालसम्म ८ हजार ६३१ जनाको जीवित उद्धार गरिएको छ, जसमा ७ हजार ३८७ नेपाली र १ हजार २४४ विदेशी नागरिक छन्।बाढीबाट विस्थापित ३ हजार ६५५ जना विभिन्न होल्डिङ सेन्टरमा राखिएका छन्। खोज तथा उद्धारका लागि ७ हजार २१२ प्रहरी परिचालन गरिएको छ।

उद्धार तथा खोजीका क्रममा ६५ प्रहरी कर्मचारी स्वयं प्रभावित भएका छन् भने २५ प्रहरी अझै सम्पर्कविहीन छन्। फेला परेका शवमध्ये १ हजार ३० वटाको जमिनमा गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।मृतकको पहिचानका लागि डीएनए नमुना संकलनलाई तीव्र पारिएको छ। हालसम्म १ हजार २ सय ६० मृतक र ९ सय ७२ आफन्त गरी २ हजार २ सय ३२ जनाको डीएनए नमुना संकलन भइसकेको छ। तर, अझै १ हजार २ सय ७० जनाको पहिचान हुन सकेको छैन। ठूलो संख्यामा मानिस अझै बेपत्ता रहनु, शव तथा आंशिक अङ्गको पहिचान हुन नसक्नु र आफन्तहरू आफ्नो प्रियजनको अवस्थाबारे अनिश्चित रहनुले भोटेकोशी बाढीको मानवीय क्षति अझै पूर्ण रूपमा यकिन हुन नसकेको देखाएको छ।
















