• विजय अधिकारी (संवाददाता) लमजुङ, २० भदौ २०८३ शनिबार । विपद्को समयमा सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ हजार पठाउन खोजेकी लमजुङकी एक महिलाको खाताबाट भुलवश ५० हजार रकम जम्मा भएको छ। मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल लमजुङ सदरमुकाम बेँसीसहरमा बस्दै आएकी जुना घले गुरुङले सहयोग रकम पठाउने क्रममा आफूबाट यस्तो गल्ती भएको बताएकी हुन्।

गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले विपद्का कारण पीडामा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले ५ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउन खोजेको उल्लेख गरेकी छन्। रकम पठाउनुअघि पटक–पटक जाँच गरेर मात्र ‘सेन्ड’ गर्नुपर्ने भए पनि हतारमा भुलवश ५ हजारको सट्टा ५० हजार गाएको उनले बताएकी छन्।आफूले सहयोग गर्ने सोचअनुसार पठाएको रकमभन्दा ४५ हजार बढी गएको भन्दै गुरुङले उक्त अतिरिक्त रकम फिर्ता गरिदिन सरकारसँग आग्रह गरेकी छन्। उनले आफूले ५ हजार सहयोग गर्ने उद्देश्य राखेको र बाँकी ४५ हजार सरकारले फिर्ता गर्ने विश्वास व्यक्त गरेकी छन्।

विपद्को कठिन समयमा सहयोग रकम पठाउँदा आफ्नो खाताबाट ठूलो रकम गएपछि गुरुङले यस घटनालाई आफूबाट भएको मानवीय भूलका रूपमा लिएकी छन्। उनले सम्बन्धित निकायले वास्तविक अवस्था बुझेर अतिरिक्त रकम फिर्ता गरिदिने अपेक्षा गरेकी छन्।गुरुङले देश विपद्को पीडामा रहेका बेला सबै नागरिकले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा समेत जोड दिएकी छन्।

‘देश रोएको’ र दुःखद् घडीमा रहेको उल्लेख गर्दै उनले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सबैलाई सकेको सहयोग गर्न आह्वान गरेकी छन्।५ हजार सहयोग गर्ने उद्देश्यले रकम पठाउँदा भुलवश ५० हजार पुगेको यो घटनाले डिजिटल कारोबार गर्दा रकम पठाउनुअघि विवरण र रकम सावधानीपूर्वक जाँच गर्नुपर्ने सन्देशसमेत दिएको छ। साथै, गुरुङले बढी गएको रकम फिर्ता हुने अपेक्षासहित सरकारसमक्ष आफ्नो आग्रह सार्वजनिक गरेकी छन्।
















