प्रहार समाचार । काठमाडौँ, १८ भदौ २०८३ शुक्रबार । प्रधानमन्त्री बालेन्द्र शाहले आज श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको पीडालाई केन्द्रमा राख्दै उनीहरूलाई धैर्य नगुमाउन र विपद्सँग जुध्ने तयारीमा जुट्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढीका कारण घर, बस्ती, खेल्ने चौर र आफन्त गुमाएका बालबालिकाको अवस्थाप्रति संवेदना व्यक्त गर्दै उनीहरूको सुरक्षित भविष्यका लागि सरकार क्रियाशील रहेको बताएका हुन्।

प्रधानमन्त्री शाहले जन्माष्टमीका दिन देशका धेरै ठाउँमा बालबालिकाहरू राधाकृष्णको भेषमा सजिएर रमाइरहँदा रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाले भने उत्सव मनाउन नसकेको उल्लेख गरेका छन्। उनका अनुसार कतिपय बालबालिका आफ्ना बाबुआमा तथा आफन्तको खोजीमा छन् भने कतिपयले अचानक आएको विपद्को पीडा अझै बुझ्नसमेत सकेका छैनन्। ‘साँच्चै, आज देश दुःखी भएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्। बाढीका कारण धेरै परिवार छुट्टिएको, घर तथा बस्ती खण्डहर बनेको र बालबालिकाहरूले खेल्ने चौरसमेत पुरिएको उल्लेख गर्दै उनले प्रभावित क्षेत्रका बालबालिकाका लागि आफ्नो ठाउँ नै बिरानो बनेको अवस्था रहेको बताएका छन्।
बाढीपछि सरकारले गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धासँगै बालबालिकालाई उद्धारमा प्राथमिकता दिएको प्रधानमन्त्री शाहको दाबी छ। प्रभावित क्षेत्रमा सञ्चालन गरिएका होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि हालको बसाइ सहज नभए पनि छिट्टै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्ने उनले प्रतिबद्धता जनाएका छन्।‘तपाईंहरू त भोलिका उज्याला झुल्काहरू हुनुहुन्छ,’ प्रधानमन्त्री शाहले बालबालिकालाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईंहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ।
’ बालबालिकालाई पुनः आफ्ना सपना बुन्न सक्ने वातावरण तयार पार्ने सरकारको प्रयास रहेको उनको भनाइ छ।प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनलाई तत्कालीन उद्धारमा मात्र सीमित नगरी दीर्घकालीन पूर्वतयारीसँग जोड्नुपर्नेमा जोड दिएका छन्। जलवायु परिवर्तनको असर हिमालय क्षेत्रमा देखिन थालेको भन्दै उनले नेपालले भोगिरहेको विपद् जोखिमबारे विश्व समुदायलाई निरन्तर जानकारी गराउनुपर्ने र जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायलाई समेत जिम्मेवार बनाउनुपर्ने बताएका छन्।उनले बालबालिकालाई विपद्को सामना गर्न सानैदेखि तयार हुनसमेत आग्रह गरेका छन्। घरमा सबैले सजिलै भेट्न सक्ने ठाउँमा ‘विपद् झोला’ तयार पार्न, त्यसमा आवश्यक औषधि, घाउचोट बाँध्ने सामग्री, पानी, सुक्खा खानेकुरा र केही नगद राख्न उनले सुझाव दिएका छन्।त्यसैगरी, भविष्यमा आउन सक्ने विपद्का लागि सानैदेखि बचत गर्ने बानी बसाल्न प्रधानमन्त्री शाहले आह्वान गरेका छन्।
दैनिक एक रुपैयाँ मात्रै बचत गर्दा पनि देशभर एक वर्षमा कति रकम जम्मा हुन सक्छ भन्ने हिसाब बालबालिकालाई आफैँ गर्न आग्रह गर्दै उनले बचतलाई विपद् पूर्वतयारीसँग जोड्न खोजेका छन्।प्रधानमन्त्री शाहले जलवायु परिवर्तन र त्यसले मानव जीवनमा पारिरहेको प्रभावबारे अध्ययन तथा छलफल गर्न पनि बालबालिकालाई आग्रह गरेका छन्। यस्ता विषयमा एकअर्काबीच छलफल गर्दै जनचेतना फैलाउने अभियानमा सक्रिय हुनुपर्ने उनको भनाइ छ।उनका अनुसार विपद्को १०औँ दिनसम्म १३ हजार ९५ जना आमाबाबु, दाजुभाइ तथा दिदीबहिनीको उद्धार भइसकेको छ। उद्धार कार्यमा आफ्नो ज्यानको समेत परबाह नगरी खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा अन्य विज्ञ टोलीप्रति प्रधानमन्त्री शाहले धन्यवाद व्यक्त गरेका छन्।विपद्का बेला विदेशमा रहेका नेपाली, मित्र राष्ट्र तथा विकास साझेदार संस्थाहरूबाट प्राप्त सहयोगप्रति पनि प्रधानमन्त्री शाहले कृतज्ञता व्यक्त गरेका छन्।
उनले संकटको समयमा एकता, सद्भाव र भ्रातृत्वको भावना कायम राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।श्रीकृष्ण जन्माष्टमीको सन्दर्भ जोड्दै प्रधानमन्त्री शाहले संघर्ष र विपद्को समयमा निराश भएर बस्नुभन्दा धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्ने सन्देश दिएका छन्। ‘हामी रोकिँदैनौँ’ भन्दै उनले सबै मिलेर विपद्को सामना गर्दै सुरक्षित र उज्यालो नेपालको निर्माणमा जुट्न आह्वान गरेका छन्।
















