प्रहार समाचार । काठमाडौं, १९ भदौ २०८३ शुक्रबार । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका प्राविधिकको उद्धारमा अहोरात्र खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले पार्टीको निर्णय नसच्चिए सांसद पदबाटै राजीनामा दिने कडा चेतावनी दिएका छन्। संकटको घडीमा राजनीति गर्न नभई नागरिकको ज्यान बचाउन आफू उद्धारस्थल पुगेको दाबी गर्दै न्यौपानेले उद्धारजस्तो संवेदनशील मानवीय अभियानबाट आफूलाई फिर्ता बोलाउने निर्णय स्वीकार्य नभएको बताएका हुन्।

‘राजनीति होइन, ज्यान जोगाउन आएको हुँ, निर्णय नसच्चिए सांसद पदबाट राजीनामा दिन्छु’ भन्ने उनको चेतावनीले रास्वपाभित्र मात्र होइन, समग्र राजनीतिक वृत्तमै तरंग ल्याएको छ। सुरुङ निर्माण क्षेत्रमा १३ वर्षको अनुभव तथा करिब १५ किलोमिटर सुरुङ खन्ने नेतृत्व गरिसकेको आफ्नो प्राविधिक दक्षता उद्धारमा प्रयोग गर्न आफू घटनास्थल पुगेको न्यौपानेको भनाइ छ। उनले आफू सांसदको हैसियतमा नभई इन्जिनियरका रूपमा उद्धारको प्राविधिक बाटो पहिल्याउन पुगेको स्पष्ट पारेका छन्।
आफ्नो नेतृत्वमा सुरुङको मुख खोल्ने तथा भित्र फसेका व्यक्तिहरूसँग सम्पर्क स्थापित गर्न सफल भएको दाबी गर्दै उनले संकटको अवस्थामा विज्ञलाई काम गर्न दिनुपर्ने बताएका छन्। उद्धारमा खटिएको विज्ञलाई राजनीतिक निर्णय वा आलोचनाका नाममा निरुत्साहित गर्नु नागरिकको जीवनसँग जोडिएको विषयमा गम्भीर कमजोरी हुने उनको संकेत छ। उद्धारस्थलसम्म हेलिकप्टर प्रयोग गरेको विषयमा भएको आलोचनाप्रति पनि न्यौपानेले कडा जवाफ दिएका छन्। आफूले सांसद भएबापत पाउने तलब, भत्ता तथा सेवा–सुविधा नलिएको दाबी गर्दै उनले जनहितमै खर्च गर्दै आएको बताएका छन्। उद्धारको जटिल परिस्थितिमा घटनास्थलसम्म पुग्न हेलिकप्टर प्रयोग गर्नुपरेको उल्लेख गर्दै उनले फर्कँदा हेलिकप्टर प्रयोग नगर्ने र राज्यले त्यसको खर्च उठाउनुपर्ने अवस्था आए आफ्नै खल्तीबाट तिर्नसमेत तयार रहेको बताएका छन्।
उनका अनुसार आफ्नो प्राथमिकता पद, सुविधा वा राजनीतिक प्रचार नभई संकटमा परेका नागरिकको जीवन बचाउनु हो। न्यौपानेको अडानले विपत्तिका बेला राजनीतिक दलको निर्देशन र विज्ञको व्यावसायिक दायित्वबीचको टकरावलाई सतहमा ल्याएको छ। नागरिक सुरुङभित्र जीवनको पर्खाइमा रहेका बेला उद्धारमा खटिएको विज्ञलाई फिर्ता बोलाउनुको औचित्य के हो? भन्ने प्रश्नसमेत अहिले उठेको छ। सांसद पद नै त्याग्ने चेतावनी दिएर न्यौपानेले रास्वपा नेतृत्वलाई मात्र होइन, संकट व्यवस्थापनमा राजनीतिक हस्तक्षेप गर्ने प्रवृत्तिलाई समेत चुनौती दिएका छन्। उनको सन्देश स्पष्ट छ—विपत्तिको समयमा पद र राजनीति होइन, नागरिकको ज्यान र विज्ञताको धर्म पहिलो हुनुपर्छ।
















