प्रहार समाचार । काठमाडौं, १९ भदौ २०८३ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार अभियानलाई तीव्र बनाएको छ। आज साँझ ७ बजेसम्म सेनाले हवाईमार्फत थप १३ जनाको उद्धार गरेको छ भने बाढी प्रभावित क्षेत्रबाट विदेशी नागरिकसहित हालसम्म ३ हजार ९३५ जनाको हवाई उद्धार गरिएको छ।बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका वा सम्पर्कविहीन व्यक्तिको खोजी कार्यलाई समेत प्राथमिकतामा राखिएको छ।

लाङटाङ हाइड्रोको टनेलमा खोजी जारी रहँदा हालसम्म दुई शव फेला परेका छन्। यस्तै, त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलमा जमेको लेदो, ढुङ्गा र बालुवा हटाउन भारी उपकरण प्रयोग गरी खोजी कार्य भइरहेको छ।त्रिशूली–३ ‘बी’ आयोजनाको टनेलभित्र उद्धार टोली ४२६ मिटर भित्रसम्म पुगेको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक उपकरणसमेत परिचालन गरिएको छ। यसैगरी, माथिल्लो त्रिशूली–१ आयोजनामा खोजी गर्ने क्रममा थप एक शव फेला परेको छ। सुरुङभित्रको कठिन भौगोलिक अवस्था र ठूलो मात्रामा थुप्रिएको लेदो तथा ढुङ्गाका कारण उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ।उद्धारसँगै बाढी प्रभावित क्षेत्रमा पूर्वाधार पुनः सञ्चालनको काम पनि अघि बढाइएको छ।

देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ टोलीले आवश्यक तयारी थालेको छ। पुल जडान भएपछि प्रभावित क्षेत्रका नागरिकको आवागमन तथा राहत सामग्री ढुवानीमा सहजता पुग्ने अपेक्षा गरिएको छ।स्वास्थ्यतर्फ पनि उद्धार टोलीले प्रभावित नागरिकलाई सेवा दिइरहेको छ। आज मात्रै ७३ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् भने हालसम्म ३ हजार २१५ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई तत्काल उपचार, प्राथमिक स्वास्थ्य सेवा तथा आवश्यक औषधि उपलब्ध गराउने कामलाई निरन्तरता दिइएको छ।यसैबीच, मित्रराष्ट्रबाट प्राप्त करिब १ हजार ९ सय किलोग्राम राहत सामग्री प्रभावित क्षेत्रतर्फ ढुवानी गरिएको छ।

राहत सामग्रीलाई आवश्यकता र पहुँचका आधारमा प्रभावित बस्तीमा पुर्याउने कार्य भइरहेको छ।भोटेकोशी बाढीबाट प्रभावित रसुवादेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्म नेपाली सेनाको ठूलो जनशक्ति परिचालन गरिएको छ। ९ हजार ३ सयभन्दा बढी नेपाली सेना खोज तथा उद्धार, सडक सञ्चालन, राहत व्यवस्थापन र आपत्कालीन उपचारमा खटिएका छन्। बाढीबाट अवरुद्ध सडक तथा सम्पर्क मार्ग सञ्चालनमा ल्याउने, जोखिमयुक्त क्षेत्रमा उद्धार गर्ने र प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्याउने कामलाई सेनाले प्राथमिकताका साथ अघि बढाइरहेको छ।बाढीपछि उद्धार गरिएका नागरिकको संख्या बढ्दै गए पनि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा अझै खोजी तथा उद्धार कार्य जारी रहेकाले प्रभावित क्षेत्रको अवस्था संवेदनशील रहेको छ। सुरुङभित्र थुप्रिएको लेदो, ढुङ्गा तथा बालुवा हटाउँदै उद्धार टोलीले सम्भावित जीवित तथा मृतकको खोजीलाई निरन्तरता दिएको छ।
















