प्रहार समाचार । रसुवा , १९ भदौ २०८३ शुक्रबार । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी तथा विदेशी उद्धारकर्ता टोलीको संयुक्त प्रयासमा सप्तरीका ३० वर्षीय सञ्जय शाह र काठमाडौं कीर्तिपुरका कविर महर्जनलाई शुक्रबार बिहान सुरुङबाट बाहिर निकालिएको हो।

उद्धारपछि दुवैलाई घटनास्थलमै प्राथमिक उपचार गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। महर्जनको वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको छ भने शाहको पनि उद्धारपछि स्वास्थ्य परीक्षण गरिएको छ।सप्तरीको तिलाठी कोइलाडीका शाह नेपाल विद्युत् प्राधिकरणमा मेकानिकल फोरम्यानका रूपमा कार्यरत छन् र त्रिशूली–३ ‘ए’ को कन्ट्रोल रुममा सिफ्ट ड्युटीमा थिए। बाढी आएपछि बाहिर निस्कने क्रममा सुरुङमा पानी पसेपछि उनी भित्रै थुनिएका थिए। उद्धारपछि सैनिक अधिकारीसँग कुरा गर्दै शाहले त्यसबेला आयोजनाभित्र करिब ४०–४५ जना रहेको र अरूलाई बचाउन आफूले सबैलाई बाहिर निस्कन लगाएको बताएका छन्। ‘बचाउने क्रममा मैले सबैलाई भाग्न लगाएँ । त्यसो गर्दा मेरो समय गयो । अन्तिममा म निस्किनै पाइनँ,’ उनले भनेका छन्।
१० भदौ बिहान परिवारसँग अन्तिम पटक करिब तीन मिनेट कुराकानी गरेका शाहले सुरुङभित्र आफूले ‘महामन्त्र जप गर्दै बसेको’ बताएका छन्। उनको परिवारले लामो समयदेखि विभिन्न निकायमा खोजी तथा उद्धारका लागि पहल गर्दै आएको थियो।काठमाडौं कीर्तिपुरका महर्जन भने कुलेखानी जलविद्युत् आयोजनाबाट त्रिशूली–३ ‘ए’ को नियमित मर्मतसम्भारका लागि पुगेका थिए। हाइड्रो पावर अटोमेसन प्रोजेक्टअन्तर्गत मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत महर्जन नेपाल विद्युत् प्राधिकरणमा १५ वर्षभन्दा बढी समयदेखि कार्यरत रहेको उनका भाइ अमिरले बताएका छन्।
१० भदौ बिहान श्रीमती हिराशोभासँग कुराकानी गर्दा उनले ब्रेकफास्ट गरेर अन्डरग्राउन्डमा काम गर्न जाने र मोबाइल सम्पर्क नहुन सक्ने बताएका थिए। त्यसपछि सम्पर्कविहीन भएका महर्जनलाई १० दिनपछि जीवितै उद्धार गरिएपछि परिवारले राहतको महसुस गरेको छ। घटनापछि सुरुङभित्र फसेका दुवैलाई जीवितै बाहिर निकाल्न नेपाली सेना, सशस्त्र प्रहरी र विदेशी उद्धारकर्ता टोलीले निरन्तर खोजी तथा उद्धार अभियान सञ्चालन गरेका थिए।
















