हेडलाईनसमाचारदेवघाटगण्डकी

भोटेकोशी बाढीपछि तनहुँमा सम्पर्कविहीन २९ मध्ये ९ जना सम्पर्कमा

प्रहार समाचार । तनहुँ, १८ भदौ २०८३ बिहीबार । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि तनहुँमा सम्पर्कविहीन भएका भनिएका २९ जनामध्ये ९ जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज साँझसम्म ९ जना सम्पर्कमा आइसकेका हुन्।

अझै २० जना सम्पर्कविहीन रहेको विवरणका आधारमा उनीहरूको खोजी कार्यलाई तीव्रता दिइएको छ।बाढीपछि सम्पर्कविहीन नागरिकको खोजीका लागि प्रहरी टोलीले त्रिशूली नदी किनारका सम्भावित क्षेत्रमा निरन्तर खोजी गरिरहेको छ। आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइबाट संयुक्त रूपमा प्रहरी परिचालन गरी खोज तथा उद्धार कार्य सञ्चालन गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आँबुखैरेनी गाउँपालिका–४ र ५ तथा देवघाट गाउँपालिका–४ र ५ अन्तर्गत पर्ने त्रिशूली नदी किनारमा विशेष रूपमा खोजी केन्द्रित गरिएको छ।

मुग्लिन पुलजिपदेखि देवघाटसम्मको नदी किनार तथा आसपासका क्षेत्रमा सुरक्षाकर्मीले सम्भावित स्थानहरूमा खोजी गरिरहेका छन्।भोटेकोशी बाढीबाट भएको क्षतिको यकिन तथा सम्पर्कविहीन नागरिकको अवस्था पत्ता लगाउने प्रयासस्वरूप खोज तथा उद्धार अभियान शुक्रबार पनि निरन्तर सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। नदीको बहाव, भौगोलिक जोखिम र बाढीले पुर्‍याएको क्षतिका कारण खोजी चुनौतीपूर्ण भए पनि सम्भावित सबै क्षेत्रमा प्रहरी परिचालन गरी खोजीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button