हेडलाईनसमाचारबागमती

त्रिशूली–३ए सुरुङको ५० मिटर भाग सफा, बाँकी लेदो हटाउन पहुँचमार्ग र निकास निर्माण हुँदै

तनहुँ । भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको त्रिशूली–३ए आयोजनाको सुरुङ क्षेत्रमा उद्धार तथा सफाइको काम तीव्र रूपमा अघि बढाइएको छ। सुरुङभित्र केही कामदार फसेको हुनसक्ने आशंका गरिएपछि उद्धार प्रयास जारी रहेको अवस्थामा हालसम्म १६० मिटर लामो केबल डक्ट टनेलको पोर्टल क्षेत्रबाट दुई दर्जनभन्दा बढी ठूला ढुंगा विस्फोट गराएर हटाइएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं ऊर्जा विज्ञ श्रीराम न्यौपानेले बताएका छन्।

न्यौपानेका अनुसार भदौ १३ गतेदेखि नियमित रूपमा दुईवटा एक्स्काभेटर परिचालन गरी पाँच दिनको अवधिमा करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर तथा घरको आकारसम्मका ठूला ढुंगा पन्छाउने काम सम्पन्न भएको छ। अवरोध हटाउने क्रममा आवश्यकताअनुसार ब्रेकर प्रयोग गर्नुका साथै विस्फोटक पदार्थमार्फत नियन्त्रणित रूपमा विस्फोट गराउने कामसमेत २४ घण्टा सञ्चालन भइरहेको उनले जनाएका छन्। उनका अनुसार हाल पोर्टलको टप फेस क्राउनभन्दा करिब २.५ मिटर तलसम्मको करिब ५० मिटर लामो भाग सफा गरिएको छ। ५.५ मिटर अग्लो सुरुङमा अझै करिब तीन मिटर गहिराइको पहुँचमार्ग तथा पानी निकास संरचना निर्माण गर्न बाँकी रहेकाले उक्त काम सम्पन्न भएपछि मात्र सुरुङभित्र जम्मा भएको लेदो हटाउने कार्य सुरु गरिनेछ।सुरुङको प्रारम्भिक अवलोकन गर्दा बाहिरबाट आँखाले देख्न सकिने करिब एक मिटर भित्रसम्मको भाग लेदोले भरिएको देखिएको न्यौपानेले उल्लेख गरेका छन्। सुरुङबाट हाल करिब दुई लिटर प्रतिसेकेन्डका दरले पानी सामान्य रूपमा बाहिर निस्किरहेको र कुनै दबाब नदेखिएको उनले बताएका छन्। यसले सुरुङभित्र पानी जमेको अवस्था नरहेको संकेत गर्ने उनको भनाइ छ।

पोर्टलको बाहिरी भागमा गेटको स्ल्याब, काठका दुई ठूला ठुटा तथा ठूला ढुंगाहरूले अवरोध गरेको पाइएको छ। यस आधारमा सुरुङभित्र पानी र लेदोबाहेक अत्यन्त ठूला ढुंगा प्रवेश गरेको सम्भावना कम रहेको प्रारम्भिक अनुमान गरिएको न्यौपानेले बताएका छन्। यद्यपि सुरुङको वास्तविक भित्री अवस्था अझै यकिन भइनसकेको उनको भनाइ छ।१६० मिटर लामो सुरुङमध्ये करिब ६० मिटरको दूरीमा एउटा मोड (बेन्ड) रहेको र पावरहाउसतर्फ उकालो ढलान भएकाले सुरुङको भित्री भाग तुलनात्मक रूपमा सुरक्षित र सामान्य रहेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। तर सुरुङभित्रको अवस्था प्रत्यक्ष रूपमा पूर्ण अवलोकन नभएसम्म यसलाई अन्तिम निष्कर्षका रूपमा लिन नसकिने अवस्था रहेको छ।घटनास्थलसम्म सडक पहुँच नभएकाले हेलिकप्टरमार्फत मात्र आवश्यक मेसिन, उपकरण तथा मर्मत सामग्री पुर्‍याउनुपर्ने अवस्था रहेको छ।

यसका कारण उद्धार तथा सफाइमा केही समय लाग्ने भए पनि काम रोकिएको छैन। सुरुदेखि नै उद्धार कार्यमा निरन्तर खटिँदै आएको उल्लेख गर्दै सांसद न्यौपानेले उपलब्ध स्रोत–साधनको प्रयोग गरी सम्पूर्ण काम निरन्तर सञ्चालन भइरहेको बताएका छन्।सुरुङभित्र कामदारहरू फसेको हुनसक्ने आशंकाबीच भइरहेको उद्धार प्रयासमा अहिलेसम्म बाहिरी क्षेत्रमा रहेका अवरोध हटाउने, पहुँच तथा पानी निकासको व्यवस्था गर्ने र सुरुङभित्र प्रवेशका लागि मार्ग तयार गर्ने कामलाई प्राथमिकता दिइएको छ। सुरुङको भित्री भागमा प्रवेश गरी वास्तविक अवस्था पहिचान भएपछि मात्र त्यहाँ रहेका व्यक्तिको अवस्थाबारे यकिन जानकारी प्राप्त हुने देखिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button