प्रहार समाचार । नुवाकोट, ११ भदौ २०८३ बिहीबार । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री बालेन्द्र शाह आज बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा निस्किएका छन्। प्रधानमन्त्री शाह आज बिहान सडकमार्ग हुँदै नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीसङ्गै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि निरीक्षण टोलीमा सहभागी छन्।

बाढीपछि उद्धार, राहत र प्रभावितको व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाहले उच्चस्तरीय बैठकमार्फत सम्बन्धित निकायलाई निर्देशन दिँदै आएका छन्। बाढीबाट विभिन्न क्षेत्रमा क्षति पुगेको अवस्थामा सरकारको उद्धार तथा राहत अभियानलाई तीव्रता दिन प्रधानमन्त्री स्वयं प्रभावित क्षेत्रमै पुगेर अवस्थाको जानकारी लिन लागेका हुन्। समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा विदुर नगरपालिका तथा आसपासका बाढी प्रभावित बस्तीको निरीक्षण गर्ने सचिवालयले जनाएको छ।

निरीक्षणका क्रममा बाढीले पुर्याएको भौतिक क्षति, अवरुद्ध सडक तथा अन्य पूर्वाधारको अवस्थाबारे प्रधानमन्त्रीले प्रत्यक्ष जानकारी लिनेछन्।प्रधानमन्त्रीको टोलीले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग तत्काल राहत, प्रभावितको व्यवस्थापन, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ। रसुवामा आएको बाढीको असर नुवाकोटसहित तल्लो तटीय क्षेत्रमा समेत देखिएपछि प्रधानमन्त्रीको स्थलगत निरीक्षणलाई आगामी उद्धार, राहत र पुनर्निर्माणको प्राथमिकता तय गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
















