प्रहार समाचार । तनहुँ, ११ भदौ २०८३ बिहीबार । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखामा स्थापित दुई पत्रकारिता पुरस्कारका लागि दुई अग्रज पत्रकारलाई छनोट गरेको छ। शाखाको हिंजो बसेको कार्यसमिति बैठकले पूर्वसांसद कृष्णकुमार श्रेष्ठद्वारा स्थापित भोर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार शाखाका पूर्वउपाध्यक्ष तथा प्रहार अनलाइनका सम्पादक शंकरराज नहर्कीलाई प्रदान गर्ने निर्णय गरेको हो। यसैगरी भाग्यशाली ढुङ्गानाद्वारा स्थापित टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कार शाखाका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार विश्वबन्धु भण्डारीलाई प्रदान गर्ने निर्णय भएको छ।

शाखा अध्यक्ष धनपति अधिकारीको अध्यक्षतामा बसेको बैठकले लामो समयदेखि पत्रकारिताको माध्यमबाट योगदान पुर्याएका नहर्की र भण्डारीलाई उनीहरूको पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको सम्मानस्वरूप पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। दुवै पुरस्कार उपयुक्त समय तय गरी विशेष कार्यक्रम आयोजना गरेर प्रदान गरिने शाखाका सचिव कृष्ण न्यौपानेले जानकारी दिए। बैठकले हरितालिका तीजको अवसरमा भदौ २७ गते शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको छ।
कार्यक्रम व्यवस्थापनका लागि उपाध्यक्ष सम्झना रसाइलीको संयोजकत्वमा समिति गठन गरिएको छ। यस्तै, शाखाका सम्पूर्ण सदस्यलाई भदौ १५ गतेभित्र सदस्यता नवीकरण गर्न आग्रह गर्ने निर्णय बैठकले गरेको छ।शाखाको भौतिक तथा संस्थागत क्षमता विस्तारमा सहयोग पुर्याउने निकायलाई पनि बैठकले धन्यवाद ज्ञापन गरेको छ। भवन मर्मतका लागि गण्डकी प्रदेश सरकारबाट प्राप्त रु. १० लाख सहयोगबाट समयमै गुणस्तरीय काम सम्पन्न गरेकामा एकीकृत सेवा कार्यालय तनहुँ र एन्जल कन्स्ट्रक्सनका प्रोपाइटर केदार अधिकारीप्रति धन्यवाद व्यक्त गरिएको छ।
चालु आर्थिक वर्षमा शाखामा ई–लाइब्रेरी स्थापनाका लागि गण्डकी प्रदेश सरकार, प्रेस रजिष्ट्रार कार्यालयबाट रु. १० लाख तथा अतिथिगृहलगायत व्यवस्थापनका लागि व्यास नगरपालिकाबाट रु. ५ लाख सहयोग प्राप्त भएकामा प्रदेश सरकार र व्यास नगरपालिकालाई समेत बैठकले धन्यवाद दिएको छ।
















