हेडलाईनसमाचारबागमती

रसुवाको बाढीमा १ सय ६५ शव फेला, ८ सय २६ अझै सम्पर्कविहीन

प्रहार समाचार । रसुवा तनहुँ । नेपाल–चीन सीमा रसुवागढी क्षेत्रमा आएको भीषण बाढीले ठूलो मानवीय क्षति निम्त्याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म १ सय ६५ जनाको शव फेला परेको छ भने ८ सय २६ जना अझै सम्पर्कविहीन छन् । फेला परेका शवको सनाखत हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

बाढीपछि सुरक्षाकर्मी र यात्रुसहित ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन् । प्रभावित क्षेत्रमा कार्यरत ४४ जना नेपाली सेना, २८ जना नेपाल प्रहरी र १३ जना सशस्त्र प्रहरी समेत सम्पर्कविहीन छन् । नेपाल पर्यटन बोर्डको प्रारम्भिक विवरणअनुसार प्रभावित क्षेत्रबाट ४ सय ६६ विदेशी र १ सय १३ नेपाली गरी ५ सय ७९ जना यात्रु बेपत्ता छन् । रसुवाको टिमुरेबाट भने हवाई माध्यमबाट १ सय २३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ९४ नेपाली र २९ विदेशी नागरिक रहेका छन् ।

बाढीले मानवीय क्षतिसँगै सडक तथा पुलमा समेत व्यापक क्षति पुर्‍याएको छ । प्रारम्भिक विवरणअनुसार ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त भएका छन् । बाढीको प्रभाव रसुवाबाट त्रिशूली नदीको तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, तनहुँ, चितवन र नवलपरासी पश्चिमसम्म परेको छ । चितवनमा मात्रै ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, तनहुँमा ९, नुवाकोटमा १२, नवलपरासी पश्चिममा ५ र रसुवामा २ जनाको शव फेला परेको प्रारम्भिक विवरण छ । खोज, उद्धार तथा राहत कार्यलाई तीव्र पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ७ हजार ४ सय १५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

घाइतेको उपचारका लागि विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाका चिकित्सक टोली परिचालन गरिएको छ भने प्रभावितका लागि अस्थायी बसोबास, खानेपानी, खाद्यान्न र औषधिको व्यवस्था मिलाइएको छ । प्राधिकरणका उपसचिव रामबहादुर केसीले मानवीय तथा भौतिक क्षतिको थप विवरण संकलन भइरहेको जानकारी दिएका छन् । सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र प्रभावितको सुरक्षा अहिले राज्यको प्रमुख प्राथमिकतामा रहेको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button