हेडलाईनसमाचारबागमती

रसुवाको बाढीमा ५० भन्दा बढीको मृत्यु, २५० भन्दा बढीको उद्धार; रातभर खोज तथा उद्धार जारी रहने प्रधानमंत्री शाहको भनाई 

प्रहार समाचार । काठमाडौं, १० भदौ २०८३ बुधबार । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी हालसम्म ५० भन्दा बढी नागरिकको मृत्यु भएको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्। बाढीबाट रसुवासहित नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्र प्रभावित भएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको जानकारी दिँदै मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन्।

प्रधानमन्त्रीका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितका सुरक्षाकर्मी परिचालन गरी खोज, उद्धार तथा राहतलाई तीव्र पारिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २ सय ५० भन्दा बढी नागरिकको उद्धार गरिएको र घाइतेहरूलाई तत्काल काठमाडौं ल्याएर उपचार सुरु गरिएको उनले बताएका छन्। बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य आज रातभरसमेत जारी रहने जनाइएको छ।

घाइतेहरूको निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको छ। प्रभावित क्षेत्रमा चिकित्सकसहितका स्वास्थ्य टोली, औषधि तथा स्वास्थ्य सामग्री पठाइएको छ। नेपाल स्काउट, विश्व स्वास्थ्य संगठन, नेपाल रेडक्रस, लायन्स क्लब तथा सम्बन्धित स्वास्थ्य निकायसँग समन्वय गरी आपत्कालीन स्वास्थ्य सेवा, औषधि र रगतको अभाव हुन नदिने व्यवस्था मिलाइएको प्रधानमन्त्री शाहले बताएका छन्। बाढीबाट नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङका गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बढी प्रभावित भएका छन्। ती क्षेत्रमा प्रभावित परिवारलाई तत्काल खाना, स्वच्छ खानेपानी, औषधि र अस्थायी बसोबासको व्यवस्था गरिने सरकारले जनाएको छ।

बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानी संरचनाको पुनर्निर्माण र विस्थापित परिवारको पुनःस्थापनालाई पनि प्राथमिकतामा राखिएको छ।प्रधानमन्त्री शाहले विपद्को यो कठिन घडीमा सरकार सम्पूर्ण साधनस्रोतसहित प्रभावित नागरिकको साथमा रहेको बताएका छन्। उनले सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारी राहत तथा उद्धार अभियानमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिलसमेत गरेका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button