प्रहार समाचार । तनहुँ, ११ भदौ २०८३ बिहीबार । तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित व्यास नगरपालिकाको नयाँ भवनमा ‘व्यास ल्याण्ड कलेक्सन’ शुभारम्भ भएको छ। बालबालिकाका लागि आधुनिक डिजाइनका पोसाक उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको कलेक्सनको बिहीबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा नगरप्रमुख न्यौपानेले स्थानीयस्तरमा नयाँ व्यवसाय सञ्चालन हुनु सकारात्मक भएको उल्लेख गर्दै गुणस्तरीय वस्तु तथा प्रभावकारी सेवामार्फत ग्राहकको विश्वास जित्न व्यवसायीलाई आग्रह गरे।

व्यास–३ का वडाध्यक्ष अनुप रानाले दमौलीमा बालबालिकाका आधुनिक तथा आकर्षक पोसाकका लागि नयाँ विकल्प थपिएको बताए। उनले स्थानीय क्षेत्रमा व्यवसाय विस्तारसँगै रोजगारी र आर्थिक गतिविधि बढाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै व्यवसायको सफलताको शुभकामना व्यक्त गरे।

कार्यक्रममा जनप्रतिनिधि, व्यवसायी तथा स्थानीयको उपस्थिति रहेको थियो।व्यास ल्याण्ड कलेक्सनमा बालबालिकाका लागि विभिन्न आधुनिक डिजाइनका कपडा तथा पोसाक उपलब्ध हुने सञ्चालक करुण राज काफ्लेले जानकारी दिए।

उनका अनुसार ग्राहकको इच्छा, आवश्यकता र बदलिँदो फेसनलाई ध्यानमा राख्दै बालबालिकाका लागि आकर्षक, आधुनिक र गुणस्तरीय पोसाक उपलब्ध गराउने लक्ष्य राखिएको छ। उनले दमौलीमै बालबालिकाका कपडाका लागि विविध विकल्प उपलब्ध गराउँदै ग्राहकलाई सहज र सन्तुष्ट सेवा दिनेमा जोड दिए।काफ्लेले स्थानीय ग्राहकको आवश्यकता बुझेर कलेक्सनमा समयअनुसार नयाँ डिजाइन तथा पोसाक थप्दै जाने बताए।

बालबालिकाको उमेर तथा रुचिअनुसारका विभिन्न प्रकारका पोसाक एकै स्थानबाट उपलब्ध गराउने उद्देश्य रहेको उनको भनाइ छ। व्यास–३ दमौलीमा सञ्चालनमा आएको कलेक्सनले बालबालिकाका आधुनिक पहिरनको बजारमा नयाँ विकल्प थपेको छ।
















