हेडलाईनसमाचार

भोटेकोशीमा तिब्बततर्फबाट आएको भीषण बाढी : रसुवामा दर्जनौँ बस्ती तथा बजारमा अकल्पनीय क्षति

प्रहार समाचार । रसुवा, १० भदौ २०८३ बुधबार । तिब्बतबाट अचानक आएको भीषण बाढीले रसुवाको भोटेकोशी तटीय क्षेत्रमा ठूलो विनाश मच्चाएको छ । बाढीले टिमुरेसहित नदी किनारका दर्जनौँ बस्ती तथा बजारमा अकल्पनीय क्षति पुर्‍याएको प्रारम्भिक विवरण आएको छ । बाढीको प्रभावका कारण तटीय क्षेत्रमा रहेका सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएपछि क्षतिको यकिन विवरण आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अशोक थापाका अनुसार गत वर्षको बाढीभन्दा यसपटकको बाढी कम्तीमा १० गुणा ठूलो र विनाशकारी देखिएको छ । उनले बाढीका कारण जनधनको ठूलो क्षति भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए । भोटेकोशी आसपासका बस्ती तथा बजारमा बाढी पसेर व्यापक क्षति पुर्‍याएको र उद्धार तथा क्षतिको विवरण संकलनमा समेत कठिनाइ भइरहेको छ ।

बाढीले नदीको तटीय क्षेत्रमा रहेका दर्जनौँ बस्ती र बजार बगाएको आशंका गरिएको छ । तटीय क्षेत्रमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीसँग समेत सम्पर्क हुन नसकेको डीएसपी थापाले बताएका छन् । जिल्ला प्रहरी कार्यालयबाट समेत घटनास्थलका सबै क्षेत्रमा सम्पर्क स्थापित हुन नसकेपछि बाढीको वास्तविक अवस्था अझै अन्योलमा रहेको छ ।

बुधबार बिहान करिब ९ बजे रसुवाको टिमुरे बजार क्षेत्रमा अचानक बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको हो । बाढीले टिमुरे बजारका बस्ती तथा संरचनामा ठूलो क्षति पुर्‍याएको बताइएको छ । भोटेकोशीको जलप्रवाह र बाढीको प्रभाव अझै बढ्न सक्ने भन्दै नदी आसपासका बासिन्दामा त्रास फैलिएको छ भने सम्भावित जोखिममा रहेका क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउनुपर्ने अवस्था देखिएको छ



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button