प्रहार समाचार । काठमाडौं, १० भदौ २०८३ बुधबार । महिला उद्यमशीलतालाई राष्ट्रिय आर्थिक विकासको मूलधारमा स्थापित गर्ने उद्देश्यसहित नेपाली कांग्रेसले ‘महिला उद्यमशीलता सम्मेलन–२०८३’ आयोजना गर्ने भएको छ। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा तथा नेपाल महिला संघको सहकार्यमा आगामी ११ भदौ २०८३ मा काठमाडौंको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा सम्मेलन हुने भएको हो।

सम्मेलनले महिला उद्यमीलाई केवल स्वरोजगारको सीमामा नराखी स्टार्टअप, लघु, साना तथा मझौला उद्यम (MSME/SME), प्रविधि, नवप्रवर्तन, निर्यात र डिजिटल अर्थतन्त्रसँग जोड्ने लक्ष्य लिएको छ। स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने, महिला उद्यमीलाई बैंक, लगानीकर्ता तथा वित्तीय संस्थासँग जोड्ने र उद्यम विस्तारका लागि आवश्यक वित्तीय तथा संस्थागत पहुँच बढाउने सम्मेलनको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ।सम्मेलनमा महिला उद्यमशीलता र आर्थिक रूपान्तरण, लगानी, वित्तीय पहुँच र स्टार्टअप/एमएसएमई वृद्धि तथा डिजिटल अर्थतन्त्र, नवप्रवर्तन र विश्व बजार विषयमा उच्चस्तरीय प्यानल छलफल हुनेछन्। साथै ‘मेरो उद्यमशील यात्रा’ शीर्षकमा प्रेरणादायी अनुभव आदानप्रदान गरिनेछ।

विभिन्न क्षेत्रमा सफल महिला उद्यमी तथा विज्ञहरूको सहभागिताले नयाँ पुस्ताका महिलालाई उद्यमतर्फ आकर्षित गर्न र आफ्नै सम्भावनालाई व्यवसायमा रूपान्तरण गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।सम्मेलनको अर्को महत्वपूर्ण पक्षका रूपमा ८० भन्दा बढी महिला उद्यमीद्वारा सञ्चालित उत्पादन तथा सेवाको प्रदर्शनी, व्यवसायीबीच प्रत्यक्ष सम्पर्कका लागि बीटुबी तथा बीटुसी नेटवर्किङ र लगानी, वित्तीय पहुँच तथा सरकारी सेवासम्बन्धी जानकारी केन्द्र सञ्चालन गरिनेछ।

आयोजकका अनुसार सम्मेलनमा २५ भन्दा बढी वक्ता, ८० भन्दा बढी स्टार्टअप तथा एसएमई र १० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ।महिला उद्यमशीलतालाई आर्थिक आत्मनिर्भरता, रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजारीकरणसँग जोड्दै आयोजना हुन लागेको यो सम्मेलनले महिलालाई अवसर खोज्ने मात्र होइन, अवसर सिर्जना गर्ने नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्ने सन्देश दिने देखिन्छ। नेपाली कांग्रेसले महिला उद्यमशीलतालाई राष्ट्रिय आर्थिक विकासको केन्द्रमा स्थापित गर्ने उद्देश्य अघि सारेसँगै सम्मेलनलाई महिला नेतृत्व, उद्यम र आर्थिक रूपान्तरणबीचको सेतुका रूपमा हेरिएको छ।
















