हेडलाईनसमाचारगण्डकी

भोटेकोसीको बाढीपछि पृथ्वी राजमार्गको पूर्वी खण्ड बन्द गर्ने जिल्ला प्रशासन कार्यालय तनहुँको निर्णय

प्रहार समाचार । तनहुँ, १० भदौ २०८३ बुधबार । रसुवाको भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि त्रिशूली नदीको तटीय क्षेत्रसहित आसपासका नदी तथा खोलामा बाढीको जोखिम बढेको भन्दै पृथ्वी राजमार्गको पूर्वी खण्डमा यातायात सेवा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि राजमार्गको उक्त खण्डमा यातायात सञ्चालन नगर्न/नगराउन जानकारी गराएको हो।

प्रशासनले भोटेकोसीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा समेत जोखिम उच्च रहेको भन्दै सम्भावित जनधनको क्षति रोक्न यातायात बन्द गर्ने निर्णय गरेको जनाएको छ।अचानक आएको बाढीका कारण त्रिशूली नदीको जलस्तर बढ्न सक्ने तथा तटीय क्षेत्रमा जोखिम उत्पन्न हुनसक्ने भएकाले राजमार्गमा आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

जोखिमपूर्ण अवस्थामा सवारी सञ्चालन गर्दा दुर्घटना तथा मानवीय क्षतिको सम्भावना बढ्न सक्ने भन्दै प्रशासनले सुरक्षा सावधानीलाई प्राथमिकता दिएको हो।जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृतद्वारा जारी सूचनामा २०८३ भदौ १० गते बुधबारदेखि अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गको पूर्वी खण्डमा यातायात सेवा बन्द रहने उल्लेख छ। प्रशासनले नदी तथा खोलानालाको अवस्था सामान्य नभएसम्म यात्रु र चालकलाई अनावश्यक जोखिम नलिनसमेत आग्रह गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button