प्रहार समाचार । तनहुँ, ८ भदौ २०८३ सोमबार । स्थानीय तहमा देखिएका विकास निर्माणदेखि सार्वजनिक सेवा प्रवाहसम्मका समस्या प्रत्यक्ष रूपमा पहिचान गरी समाधानका लागि पहल गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँले ‘जनताको प्रत्यक्ष गुनासो’ अभियान सञ्चालन गरेको छ। जिल्लावासीका वास्तविक समस्या सम्बन्धित निकायसम्म पुर्याउने लक्ष्यसहित रास्वपाले नागरिकलाई आफ्ना गुनासा र सुझाव खुलेर पठाउन आग्रह गरेको हो।

अभियानअन्तर्गत तनहुँका नागरिकले सडक, खानेपानी, विद्युत्, शिक्षा, स्वास्थ्य, विकास निर्माण, सार्वजनिक सेवा तथा अन्य जनसरोकारका विषयमा देखिएका समस्या र गुनासा जिल्ला समितिसमक्ष पठाउन सक्नेछन्। रास्वपाले उपलब्ध गराएको फारम वा क्यूआर कोडमार्फत विवरण पठाउन सकिने व्यवस्था मिलाइएको छ भने गुनासालाई थप प्रमाणित बनाउन फोटो, भिडियो तथा सम्बन्धित कागजातसमेत उपलब्ध गराउन सकिने जनाएको छ।रास्वपा तनहुँले नागरिकबाट प्राप्त गुनासालाई केवल संकलन गरेर थन्क्याउने नभई सम्बन्धित सरकारी तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी समाधानका लागि पहल गर्ने जनाएको छ।

जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्या पहिचान गरी सम्बन्धित निकायलाई जवाफदेही बनाउन अभियान प्रभावकारी माध्यम बन्ने जिल्ला समितिको अपेक्षा छ।रास्वपा तनहुँका सचिव अनिल श्रेष्ठले जिल्लावासीलाई अभियानमा सक्रिय रूपमा सहभागी भई आफ्ना समस्या, गुनासा र सुझाव पठाउन आग्रह गरेका छन्। उनले स्थानीय स्तरमा वर्षौंदेखि समाधान हुन नसकेका समस्या तथा सेवा प्रवाहमा देखिएका कमजोरीबारे नागरिकले प्रमाणसहित जानकारी गराउन सक्ने बताए। ‘जनताको आवाज प्रत्यक्ष रूपमा सुन्ने र समस्याको समाधानका लागि पहल गर्ने’ उद्देश्यसहित अभियान अघि बढाइएको रास्वपा तनहुँले जनाएको छ।















