प्रहार समाचार । तनहुँ, ८ भदौ २०८३ सोमबार । तनहुँको ऋषिङ गाउँपालिका–८ मा वर्षौंदेखि मनाइँदै आएको मौलिक नेवा जात्रा अर्थात् ‘हिलेजात्रा’ यसपटक चितवनको नारायणगढमा प्रदर्शन हुने भएको छ। ऋषिङबाट चितवन पुगेर नारायणगढ क्षेत्रमा बसोबास गर्दै आएका नेवा समुदायको निमन्त्रणामा आगामी भदौ १४ गते जात्रा प्रदर्शन गर्न लागिएको हो। तस्विर: एआई

स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै ऋषिङको मौलिक पहिचानलाई चितवनसम्म पुर्याउने उद्देश्यले जात्रा प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ।जात्रामा ऋषिङबाट करिब ७० जना स्थानीय कलाकारले प्रस्तुति दिनेछन्। नौमती बाजासहित असारे गीत, रोपाइँ तथा कृषिकर्मसँग सम्बन्धित परम्परागत गतिविधिलाई जात्राका माध्यमबाट प्रस्तुत गरिनेछ। लाहुरे–लाहुरेनीसँगै रोपाहार, हली, बाक्से, घोडामुख्या तथा गोरुको सांकेतिक प्रदर्शन जात्राका मुख्य आकर्षण रहने भिमसेन नेवा खलका अध्यक्ष गणेशकुमार श्रेष्ठले जानकारी दिए।
नारायणी कलाकेन्द्रबाट सुरु हुने जात्रा नारायणगढको पुल्चोक क्षेत्रमा प्रदर्शन गरिनेछ। जात्राको संयोजन गरिरहेका राजकुमार श्रेष्ठका अनुसार दिउँसो ३ बजे सुरु हुने प्रदर्शन साँझ ७ बजेसम्म चल्नेछ। ऋषिङको गाउँघरमा पुस्तौंदेखि चलिआएको कृषि जीवन, सामाजिक संस्कार र नेवा समुदायको सांस्कृतिक पहिचानलाई कलात्मक ढंगले प्रस्तुत गरिने भएकाले जात्राले चितवनमा रहेका ऋषिङे समुदायसँगै सर्वसाधारणको ध्यान खिच्ने अपेक्षा गरिएको छ।जात्रामा सहभागी हुन कलाकारसहित भिमसेन नेवा खलबाट करिब १०० जनाको टोली चितवन प्रस्थान गर्ने तयारीमा छ।
टोलीको यातायात, खानपान तथा आवासको सम्पूर्ण व्यवस्थापन नारायणगढमा बसोबास गर्दै आएका ऋषिङे समुदायले गर्ने भएका छन्। गाउँबाट शहरसम्म मौलिक संस्कृति पुर्याउँदै नयाँ पुस्तालाई आफ्नो कला, परम्परा र पुर्ख्यौली पहिचानसँग जोड्ने प्रयासका रूपमा हेरिएको यो प्रदर्शन ऋषिङको हिलेजात्रालाई जिल्लाबाहिर चिनाउने महत्वपूर्ण अवसरसमेत बन्ने भएको छ।















