• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, १९ साउन २०८३ मंगलबार । लमजुङमा फेरि एकपटक रासायनिक मलको चरम अभाव देखिएको छ। बाली लगाउने मुख्य समयमा मल नपाउँदा किसानहरू घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्। जिल्लाको राइनास नगरपालिकामा रहेको जनहित कफी तथा कृषि सहकारी संस्थाको मल बिक्री तथा वितरण केन्द्रमा बिहानैदेखि किसानहरूको ठूलो भीड लागेको भए पनि उपलब्ध मल अत्यन्त न्यून हुँदा अधिकांश किसान निराश भएर खाली हात घर फर्किनुपरेको छ।

राइनास नगरपालिका–३ र ४ का किसानका लागि हाल जम्मा २० बोरा रासायनिक मल मात्र उपलब्ध गराइएको छ। आवश्यकताको तुलनामा यो परिमाण अत्यन्तै कम भएकाले वितरण प्रक्रिया नै अव्यवस्थित बनेको किसानहरूको गुनासो छ। धान, मकै, कोदो लगायतका बालीका लागि अत्यावश्यक समयमा मल अभाव हुँदा कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने भन्दै किसानहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।मल नपाएका किसानहरूले सरकारको कृषि नीति र आपूर्ति व्यवस्थाप्रति तीव्र असन्तुष्टि जनाएका छन्। “खेत रोपेर के गर्ने, मल नै छैन, बरु बारी बाँझै राखेर किनेर खानु बेस” भन्ने उनीहरूको अभिव्यक्तिले ग्रामीण कृषिक्षेत्रको निराशाजनक अवस्था झल्काएको छ।

हरेक वर्ष खेतीको मुख्य सिजनमा दोहोरिने मल संकट समाधान गर्न नसक्नु सम्बन्धित निकायको कमजोरी भएको भन्दै किसानहरूले आक्रोश व्यक्त गरेका छन्।किसानहरूले रासायनिक मलको सहज, समयमै र पर्याप्त आपूर्तिको सुनिश्चितता गर्न स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारसँग तत्काल प्रभावकारी पहल गर्न माग गरेका छन्। कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा र देशलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य केवल नारामा सीमित नरहोस् भन्ने उनीहरूको भनाइ छ। समयमै मल उपलब्ध गराउन नसके आगामी उत्पादनमा गम्भीर असर पर्ने चेतावनीसमेत किसानहरूले दिएका छन्।
















