• विजय अधिकारी (प्रहार संवाददाता) लमजुङ, २० साउन २०८३ बुधबार ।लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ ङादीस्थित ड्याम छहरामा आन्तरिक पर्यटकको चाप उल्लेख्य रूपमा बढ्न थालेपछि सम्भावित दुर्घटना रोक्न जोखिमयुक्त क्षेत्रमा अस्थायी बाँसको बार लगाइएको छ।

पछिल्लो समय टिकटक, भिडियो तथा फोटो खिच्न आउने पर्यटकको भीड बढेसँगै सुरक्षालाई प्राथमिकतामा राख्दै प्रहरी चौकी खुदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा कार्यालयको समन्वयमा छहरा वरपरका जोखिमपूर्ण स्थानमा बार जडान गरिएको हो।प्रहरी चौकी खुदीका प्रमुख प्रहरी नायब निरीक्षक रन्जन अमगाईका अनुसार छहरा आसपासका चिप्लिने तथा असुरक्षित स्थानमा पर्यटकको आवतजावत बढेकाले सम्भावित मानवीय क्षति रोक्न तत्काल अस्थायी सुरक्षा व्यवस्था गरिएको हो।

उनका अनुसार सामाजिक सञ्जालका लागि भिडियो र तस्बिर खिच्ने क्रममा जोखिमपूर्ण स्थानसम्म पुग्ने प्रवृत्ति बढेकाले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यो कदम चालिएको हो।मर्स्याङ्दी गाउँपालिका–७ का वडा अध्यक्ष तिलबहादुर गुरुङका अनुसार ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको ड्यामबाट छाडिएको पानीले बनेको आकर्षक छहरा अहिले लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। तर छहरा वरपरका ढुंगा, कच्ची माटो तथा पर्खाल अत्यधिक चिप्लिने भएकाले पर्यटकको सुरक्षामा चुनौती देखिएको र त्यसलाई मध्यनजर गर्दै बार लगाइएको उनले बताए।

वडा अध्यक्ष गुरुङले पर्यटकको संख्या अझै बढ्ने अपेक्षासँगै आवश्यकता अनुसार थप सुरक्षा पूर्वाधार निर्माण गरिने जानकारी दिए। उनका अनुसार ङादी ड्याम छहरालाई सुरक्षित, व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित स्थानीय सरकार, प्रहरी र सम्बन्धित निकायबीच समन्वयात्मक रूपमा थप सुरक्षा व्यवस्थापनका काम अघि बढाइनेछ।
















