हेडलाईनसमाचारगण्डकीसाहित्य

भानुघाँसी शालिक तोडफोड प्रकरण : तत्काल छानबिन र दोषीमाथि कडा कारबाहीको माग, आन्दोलनको चेतावनी

प्रहार समाचार । तनहुँ, ९ साउन २०८३ शनिबार । लमजुङको मध्यनेपाल नगरपालिका–४, दुइपिप्ले नजिक कलेस्ती किनारस्थित भानुघाँसी संवाद पार्कमा स्थापना गरिएको भानुघाँसीको अर्धकदको शालिक तोडफोड गरिएको घटनाप्रति नेपाल मगर संघका उपमहासचिव सिद्धान्त गर्जा मगरले गम्भीर ध्यानाकर्षण जनाउँदै तत्काल निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकार र प्रशासनसँग माग गरेका छन्। गर्जा मगर सहितको एक टोलि उक्त स्थानमा पुगेर घटनालाई कुनै सामान्य तोडफोड नभई एक जातिमाथिको दमन, अन्याय र जातीय विभेदको संकुचित मानसिकताबाट प्रेरित कार्य भएको आरोप लगाउँदै दोषीलाई कारबाही नगरिए भौतिक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।

शनिबार राति अज्ञात समूहले तोडफोड गरेको उक्त शालिक नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्य तथा श्रमको सम्मानका प्रतीक घाँसी खड्कबहादुर ठाडा मगरको प्रेरणादायी सन्देशलाई स्मरण गर्दै निर्माण गरिएको थियो। राष्ट्रिय विभूतिप्रतिको सम्मान र सांस्कृतिक पहिचानसँग जोडिएको सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमणले स्थानीयवासी, साहित्यप्रेमी तथा सरोकारवालामाझ गम्भीर चिन्ता र आक्रोश सिर्जना गरेको छ। घटनालाई राष्ट्रिय सम्पदा र सामाजिक सद्भावमाथिको प्रहारका रूपमा व्यापक रूपमा हेरिएको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान, तोडफोडको उद्देश्य र कारण पत्ता लगाउन प्रमाण सङ्कलन तथा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। यद्यपि घटनाको वास्तविक कारण अझै खुल्न नसकेको र अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरीले जनाएको छ।

स्थानीयवासी तथा विभिन्न सरोकारवाला निकायले दोषी जोसुकै भए पनि कानुनबमोजिम कडा कारबाही गर्न, सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक–सांस्कृतिक सम्पदाको सुरक्षा थप प्रभावकारी बनाउन र यस्ता घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्न सरकारसँग माग गरेका छन्। राष्ट्रिय विभूति र सांस्कृतिक धरोहरमाथि हुने यस्ता गतिविधिलाई समयमै नियन्त्रण गर्न नसके सामाजिक सद्भावमा गम्भीर असर पर्न सक्ने भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीलाई अविलम्ब कारबाही गर्नुपर्ने आवाज थप बलियो बन्दै गएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button