• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, ९ साउन २०८३ शनिवार । प्रविधिको पहुँच विस्तारसँगै लमजुङमा साइबर तथा अनलाइन ठगीको जालो तीव्र रूपमा बढ्दै गएको पाइएको छ। पछिल्लो एक वर्षको अवधिमा मात्रै जिल्लामा अनलाइन ठगीका ७८ वटा उजुरी दर्ता भएका छन् भने ठगीमा परेकाहरूबाट ४२ लाख ४८ हजार रुपैयाँभन्दा बढी रकम गुमेको तथ्याङ्क सार्वजनिक भएको छ। तस्बिर : एआई

बढ्दो साइबर अपराधले सर्वसाधारणको बचत, व्यक्तिगत सूचना र डिजिटल कारोबारमाथि गम्भीर जोखिम सिर्जना गरेको देखिएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार ठगी गर्ने गिरोहले ओटीपी कोड, बैंक खाताको विवरण, नागरिकताको प्रतिलिपि तथा अन्य व्यक्तिगत सूचना विभिन्न बहानामा प्राप्त गरी बैंक खाता र डिजिटल वालेटबाट रकम चोरी गर्ने गरेको पाइएको छ। त्यससँगै सामाजिक सञ्जालमार्फत नक्कली चिट्ठा, आकर्षक पुरस्कार, रोजगारी, लगानी तथा अन्य प्रलोभन देखाएर सर्वसाधारणलाई जालमा पार्ने घटना समेत उल्लेख्य रूपमा बढिरहेका छन्।प्रहरीका अनुसार अधिकांश पीडित अपरिचित व्यक्तिको फोन, सन्देश वा सामाजिक सञ्जालमा आएका लिंकमा विश्वास गर्दा ठगीको सिकार बनेका छन्। डिजिटल माध्यमको प्रयोग बढ्दै जाँदा साइबर सुरक्षा सम्बन्धी सचेतनाको अभावलाई अपराधीहरूले अवसरका रूपमा प्रयोग गरिरहेको प्रहरीको निष्कर्ष छ।

यसले आर्थिक क्षतिमात्र होइन, नागरिकको व्यक्तिगत सूचना दुरुपयोग हुने जोखिमसमेत बढाएको छ।प्रहरी प्रमुख बस्नेतले कुनै पनि अपरिचित व्यक्तिलाई ओटीपी, बैंक खाताको विवरण, पासवर्ड वा व्यक्तिगत सूचना नदिन, शंकास्पद लिंक नखोल्न तथा अनलाइन कारोबार गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। शंकास्पद गतिविधि देखिएमा वा ठगी भएको आशंका लागेमा ढिलाइ नगरी नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन उनले अनुरोध गर्दै साइबर अपराध नियन्त्रणका लागि नागरिकको सचेतना नै सबैभन्दा प्रभावकारी सुरक्षा उपाय भएको बताए।















