लुम्बिनीहेडलाईनकोशीसमाचारमदेशकर्णालीसुदुर पश्चिमगण्डकीबागमती

हरिशयनी एकादशी आज : तुलसी पूजासँगै चतुर्मास व्रत आरम्भ, विष्णु मन्दिरमा भक्तजनको भीड

प्रहार समाचार । काठमाडौं, ९ साउन २०८३ शनिबार । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा आजदेखि सनातन वैदिक परम्पराअनुसार चार महिनासम्म चल्ने चतुर्मास व्रत तथा तुलसीको विशेष पूजा–आराधना सुरु भएको छ। घर–घरका तुलसीको मोठमा एक महिनाअघि राखिएको बिरुवा आज सारिएको छ भने राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ।

यस दिनलाई भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने दिनका रूपमा मनाइने धार्मिक परम्परा रहेको छ। धर्मशास्त्रविद्हरुका अनुसार हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्मको चार महिनालाई ‘चतुर्मासा’ भनिन्छ। यस अवधिमा भगवान् विष्णु शयन गर्नुहुने धार्मिक विश्वास रहेको छ। वर्षभर पर्ने २४ एकादशीमध्ये सबैमा व्रत बस्न नसक्ने भक्तजनले चतुर्मासमा पर्ने आठ एकादशी वा कम्तीमा हरिशयनी र हरिबोधिनी एकादशीमा फलाहार गरी व्रत बस्ने परम्परा रहिआएको छ।हरिशयनी एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार त्यागी फलफूल, रोटी, ढिँडोलगायतका सात्त्विक भोजन ग्रहण गर्ने चलन छ। धार्मिक मान्यतासँगै तुलसीलाई वैज्ञानिक दृष्टिले पनि महत्वपूर्ण औषधीय वनस्पतिका रूपमा लिइन्छ।

तुलसीले वातावरण शुद्ध बनाउन, अक्सिजनको मात्रा बढाउन तथा विभिन्न रोगका कीटाणु नियन्त्रणमा सहयोग पुर्‍याउने तथ्य उल्लेख गरिँदै आएको छ। वास्तु दोष निवारणका लागि पनि घरमा तुलसीको मोठ राख्ने परम्परा प्रचलित छ।आजदेखि विधिपूर्वक सुरु भएको तुलसी पूजाको समापन कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन तुलसी र दामोदर (भगवान् विष्णु) को वैदिक विधिअनुसार विवाह गराई गरिन्छ। त्यसपछि अग्निस्थापना, हवन तथा चतुर्मास व्रतको उद्यापन गर्ने धार्मिक परम्परा रहेको छ। हरिशयनी एकादशीले धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्रकृतिप्रतिको सम्मानलाई एकसाथ जोड्ने पर्वका रूपमा विशेष महत्व राख्छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button