व्यासहेडलाईनसमाचारगण्डकी

तनहुँको पृथ्वीराजमार्गमा हाईस दुर्घटना : ८ जना घाइते

प्रहार समाचार । तनहुँ, ८ साउन २०८३ शुक्रबार । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा आज दिउँसो हाईस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.प्र.०१–००१ ख ०१७१ नम्बरको हाईस चालकले नियन्त्रण गुमाउँदा सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएको थियो। हाईसमा चालकसहित १२ जना सवार रहेकामा ४ जना सकुशल रहेका छन् भने ८ जना घाइते भएका छन्। प्रहरीले घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाएको जनाएको छ। लक्ष्मी अस्पताल डुम्रेमा उपचाररत घाइतेहरूमा बाँकेको खजुरा गाउँपालिका–२ का ३२ वर्षीय रमेश क्षेत्री (घाँटी, ढाड र दाहिने हातमा चोट, अवस्था मध्यम), काठमाडौंको नागार्जुन नगरपालिका–१ की ५६ वर्षीया शशीकला अधिकारी (घाँटी र काँधमा चोट, अवस्था मध्यम), कास्की पोखरा महानगरपालिका–११ का ५५ वर्षीय दयाराम पोखरेल (दाहिने हातमा चोट), झापाको भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय तारा सुब्बा (ढाड र कम्मरमा चोट), दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ का २७ वर्षीय नवीन खड्का (ढाडमा चोट) र सप्तरीको खडक नगरपालिका–४ अमाहाका १७ वर्षीय उज्वल यादव रहेका छन्।

पछिल्ला चार जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। यस्तै, प्रदेश अस्पताल दमौलीमा बझाङको जयपृथ्वी नगरपालिका–२ का २९ वर्षीय माधवप्रसाद जोशी र बित्थडचिर गाउँपालिका–८ का २४ वर्षीय जीवन जोशी उपचाररत रहेका छन्। उनीहरूको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button