प्रहार समाचार । तनहुँ, ८ साउन २०८३ शुक्रबार । तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सडक विस्तारका क्रममा सारिएको विद्युत पोल र ट्रान्सफर्मरमा जमिनबाट करिब तीन फिटमात्र माथि नाङ्गो विद्युत तार राखेर नेपाल विद्युत प्राधिकाण तनहुँ वितण केन्द्रले चरम लापरवाही गरेको देखिएको छ । यस्तो चरम लापरवाहि प्रति स्थानीयले गम्भीर चिन्ता व्यक्त गरेका छन्। सार्वजनिक आवतजावत हुने स्थानमै अत्यन्त जोखिमपूर्ण अवस्थामा विद्युत तार खुला छाडिएकोले जुनसुकै बेला मानवीय तथा पशुचौपायाको ज्यानै जाने दुर्घटना हुन सक्ने भन्दै तत्काल व्यवस्थापन गर्न माग गरिएको छ।

स्थानीयका अनुसार यस्ता नाङ्गो तार देउराली क्षेत्रमा मात्र नभई सडक विस्तार गरिएको अन्य स्थानमा पनि देखिएका छन्। व्यास–१ निवासी अर्जुन श्रेष्ठले सडक विस्तारपछि सारिएका विद्युत संरचनामा आवश्यक सुरक्षा मापदण्ड पालना नगरिएको बताउँदै सम्बन्धित निकायको लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिएका छन्। स्थानीयवासीले नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रलाई जोखिमपूर्ण संरचनाको तत्काल निरीक्षण गरी नाङ्गो तार सुरक्षित व्यवस्थापन गर्न आग्रह गरेका छन्। साथै जिल्ला प्रशासन, प्रहरी प्रशासन तथा सम्बन्धित निकायले पनि घटनास्थलको अनुगमन गरी सम्भावित दुर्घटना हुनुअघि नै आवश्यक सुरक्षा उपाय अवलम्बन गर्नुपर्ने माग गरिएको छ।

सार्वजनिक स्थानमा विद्युतका नाङ्गा तार खुला अवस्थामा रहनु सामान्य कमजोरी नभई नागरिक सुरक्षासँग प्रत्यक्ष जोडिएको गम्भीर विषय हो। सम्बन्धित निकायले समयमै संवेदनशीलता नदेखाए कुनै पनि बेला अप्रिय घटना हुन सक्ने भएकाले जोखिम हटाउन तत्काल प्रभावकारी कदम चाल्न स्थानीयले जोडदार माग गरेका छन्। यस सम्बन्धमा तनहुँ वितरण केन्द्रका प्रमुख पवन पौडेल सँग बुझ्दा उनले आफूलाई उक्त कुरा जानकारी नभएको र के रहेछ बुझेर समस्या समाधान गर्ने बताए ।
















