हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

पृथ्वी राजमार्ग विस्तारसँगै बढ्दो जोखिम : एचआईभी, मानव बेचबिखन र यौन दुर्व्यवहारविरुद्ध सचेत हुन आग्रह

प्रहार समाचार । तनहुँ, ९ साउन २०८३ शनिबार । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारसँगै बाह्य मानिसको आवागमन बढेकाले महिला तथा किशोरीमाथि एचआईभी/एड्स, मानव बेचबिखन र यौनजन्य दुर्व्यवहारको जोखिमसमेत बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ । मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजनाअन्तर्गत सामाजिक सचेतना तथा जीविकोपार्जन सहयोग कार्यक्रमअन्तर्गत व्यास नगरपालिका–४ चुरेखल्सी टोलमा आयोजित एकदिने सचेतना कार्यक्रममा वक्ताहरूले विकास निर्माणसँगै सामाजिक सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

व्यास–४ का वडा सदस्य सरोज भण्डारीले राजमार्ग विस्तारका क्रममा स्थानीयस्तरमा देखिन सक्ने सामाजिक विकृति र जोखिम न्यूनीकरणका लागि समुदाय नै सचेत हुनुपर्ने बताए । गुराँस आमा समूहकी अध्यक्ष छलिमाया थापाले महिला तथा किशोरीमाथि हुने हिंसा, दुर्व्यवहार र शोषण रोक्न परिवार तथा समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् । मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजनाअन्तर्गत ६ वटा पालिका समेटिएको सडक विस्तारका क्रममा हालसम्म करिब ७ सय परिवारका घर भत्किएको कार्यक्रममा जानकारी दिइयो । राजमार्ग विस्तारबाट प्रभावित परिवारको लगत संकलन गरी ड्राइभिङ, ब्युटी पार्लरलगायत सीपमूलक तालिममार्फत वैकल्पिक जीविकोपार्जनसँग जोड्ने काम भइरहेको बताइएको छ ।

कार्यक्रममा एचआईभी/एड्स संक्रमण रोकथामलाई प्रमुख विषय बनाउँदै सन् २०३० सम्म संक्रमण शून्यमा झार्ने लक्ष्य भए पनि नेपालमा अझै करिब ३४ हजार संक्रमित रहेको तथ्यांक प्रस्तुत गरियो । एचआईभीको पूर्ण उपचार हालसम्म नभएकाले संक्रमण हुन नदिनु, सही सूचना लिनु र समुदायमा सचेतना फैलाउनु नै प्रभावकारी उपाय भएको वक्ताहरूले बताए । प्रस्तुत तथ्यांकअनुसार करिब ८० देखि ८१ प्रतिशत संक्रमण असुरक्षित यौनसम्पर्कबाट हुने गरेको तथा बाँकी संक्रमण असुरक्षित रगत, अप्रेसन र असुरक्षित औजार प्रयोगबाट सर्न सक्ने जोखिम रहेको जनाइएको छ ।

सहयात्री समाज नेपाल (सिड्स नेपाल) की निवर्तमान अध्यक्ष गीता खनालले राजमार्ग तथा पुल निर्माणका क्रममा विभिन्न जिल्लाबाट आएका कामदार र अपरिचित व्यक्तिको आवागमन बढ्दा स्थानीय महिला तथा किशोरीको सुरक्षामा चुनौती थपिएको बताइन् । कामदारबाट हुने जिस्क्याउने, छुनेजस्ता व्यवहारलाई सामान्य रूपमा नलिन आग्रह गर्दै उनले यस्ता घटना समयमै रोक्न नसके गम्भीर यौन दुर्व्यवहारको रूप लिन सक्ने चेतावनी दिइन् । सडक आसपास काम गर्ने मजदुरसँगको अनावश्यक सम्पर्क, सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट हुने प्रलोभन र यौन शोषणबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरिएको थियो ।

१८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौनसम्बन्ध भए पनि नेपालको कानुनअनुसार बलात्कार मानिने कानुनी व्यवस्थाबारे जानकारी गराउँदै सामाजिक सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेकोमा जोड दिइयो । मानव बेचबिखनको स्वरूप फेरिए पनि जोखिम कायमै रहेको भन्दै आर्थिक रूपमा विपन्न एक किशोरीलाई प्रलोभनमा पारी भारत पुर्‍याइएको र नेपाल तथा भारतका सुरक्षा निकायको संयुक्त प्रयासमा उद्धार गरी हाल उनको अध्ययन अघि बढिरहेको घटनासमेत कार्यक्रममा स्मरण गरियो ।सहयात्री समाज नेपाल (सिड्स नेपाल) को आयोजना तथा चुरेखल्सी टोल विकास संस्थाको समन्वयमा आयोजित कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष हरिराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण ऋषिकान्त दुवाडीले गरेका थिए ।

कार्यक्रममा राजमार्ग विस्तारले घर, जमिन र जीविकोपार्जनमा असर पार्नुका साथै सामाजिक जोखिमसमेत बढाउन सक्ने भएकाले विकाससँगै मानव सुरक्षा र सामाजिक सचेतनालाई समान प्राथमिकता दिनुपर्नेमा जोड दिइयो । एचआईभीबाट बच्ने उपायबारे जानकारी, मानव बेचबिखनको प्रलोभन पहिचान गर्ने क्षमता र यौनजन्य दुर्व्यवहारविरुद्ध तत्काल आवाज उठाउने संस्कार विकास गर्न सके मात्रै समुदाय सुरक्षित बन्न सक्ने सन्देश कार्यक्रमले दिएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button