हेडलाईनसमाचारसाहित्यगण्डकी

राष्ट्रिय विभूतिमाथि प्रहार : लमजुङको भानुघाँसी संवाद पार्कमा भानुघाँसीको शालिक तोडफोड, दोषी खोजी तीव्र

• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, ८ साउन २०८३ शुक्रबार । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्य तथा घाँसीको प्रेरणादायी सन्देशलाई स्मरण गराउँदै निर्माण गरिएको लमजुङको मध्यनेपाल नगरपालिका–४, दुइपिप्ले नजिक कलेस्ती किनारस्थित भानुघाँसी संवाद पार्कमा स्थापना गरिएको भानुघाँसीको अर्धकदको शालिक अज्ञात समूहले गएराति तोडफोड गरेको छ। राष्ट्रिय विभूतिको सम्मानसँग जोडिएको सार्वजनिक सम्पत्तिमाथिको यो घटनाले स्थानीयवासी, साहित्यप्रेमी र सरोकारवालामाझ गम्भीर चिन्ता र आक्रोश उत्पन्न गरेको छ।

घटनापछि इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान तथा छानबिन अघि बढाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान, उद्देश्य र तोडफोडको कारण पत्ता लगाउन प्रमाण सङ्कलन तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भानुघाँसी संवाद पार्क नेपाली भाषा, साहित्य र श्रमको सम्मानको प्रतीकका रूपमा स्थापित स्थल हो। यस्तो ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको स्थानमा रहेको शालिकमाथि गरिएको तोडफोडलाई सामान्य घटना नभई राष्ट्रिय सम्पदा र सामाजिक सद्भावमाथिको प्रहारका रूपमा हेरिएको छ।

स्थानीयवासीले दोषीलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन तथा यस्ता सम्पदाको सुरक्षा थप प्रभावकारी बनाउन माग गरेका छन्।घटनाको वास्तविक कारण अझै खुलेको छैन। कसले र किन यस्तो कार्य गर्‍यो भन्ने विषय अनुसन्धानकै क्रममा रहे पनि दोषी जोसुकै भए पनि कानुनबमोजिम कडा कारबाही हुनुपर्ने आवाज बलियो बन्दै गएको छ। सार्वजनिक सम्पत्ति र राष्ट्रिय विभूतिप्रतिको सम्मान जोगाउन यस्ता घटनामा शून्य सहनशीलताको नीति अपनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। तोडफोड अधिको शालिक :



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button