प्रहार समाचार । तनहुँ, ७ साउन २०८३ बिहीबार । मुग्लिङ–पोखरा सडकखण्डमा बढ्दो सवारी चाप र मनसुनी मौसमका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बिहीबार बिहानदेखि संयुक्त रूपमा चालक सचेतना अभियान सञ्चालन गरेको छ। बिहान ४ बजेदेखि सुरु गरिएको अभियान अन्तर्गत चालकहरूलाई सडक सुरक्षाप्रति जिम्मेवार बन्न आग्रह गर्दै ट्राफिक नियमको कडाइका साथ पालना गर्न निर्देशन दिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहान ७ बजेसम्म सञ्चालन गरिएको अभियानमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा ठूला सवारी साधनका गरी कुल १२० जना चालक लाई सडकको वर्तमान अवस्था, मनसुनी मौसममा अपनाउनुपर्ने सावधानी, लेन अनुशासन तथा ट्राफिक नियमको पालनाबारे विस्तृत रूपमा सम्झाइबुझाइ गरिएको छ। अभियानका क्रममा २४ वटा दुई पाङ्ग्रे, ३७ वटा चार पाङ्ग्रे साना सवारी तथा ५९ वटा ठूला सवारी साधनका चालकलाई प्रत्यक्ष रूपमा सचेत गराइएको हो।




विशेषगरी वर्षायाममा सडक चिप्लिने, दृश्यता कम हुने तथा पहिरोको जोखिम बढ्ने भएकाले चालकको सानो लापरबाहीले समेत ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै प्रहरीले सुरक्षित यात्रा सुनिश्चित गर्न नियम पालना अपरिहार्य रहेकोमा जोड दिएको छ। सवारी चलाउँदा गति नियन्त्रण, लेन अनुशासन, सुरक्षित दूरी कायम गर्ने तथा जोखिमपूर्ण ओभरटेक नगर्न पनि चालकहरूलाई आग्रह गरिएको छ।जिल्ला प्रहरी कार्यालय तनहुँले यस्ता सचेतनामूलक अभियानलाई निरन्तरता दिइने जनाएको छ।

दुर्घटना भएपछि कारबाही गर्नेभन्दा दुर्घटना हुनै नदिन पूर्वसावधानी अपनाउने नीति अन्तर्गत अभियान सञ्चालन गरिएको प्रहरीले स्पष्ट पारेको छ। यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै सबै चालकलाई जिम्मेवार, अनुशासित र सचेत भएर सवारी सञ्चालन गर्न प्रहरीको आग्रह छ।















