प्रहार समाचार । काठमाडौं, ७ साउन २०८३ बिहीबार । देशभर मनसुनी प्रणाली सक्रिय बन्दै गएपछि जल तथा मौसम विज्ञान विभागले पाँच प्रदेशमा भारी वर्षा हुने आँकलन गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमै रहेको छ।

विभागका अनुसार आज गण्डकी, बागमती, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा भारी वर्षाको चेतावनी दिएको छ। विभागले बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढेकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अहिले गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली देखिएको छ। देशका हिमाली र पहाडी भू–भागका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रसहित मधेश र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले बिहीबार रातिसमेत मौसम पूर्ण रूपमा नखुल्ने जनाएको छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षा तथा हिमपात, पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

विभागका अनुसार सम्भावित भारी वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने, बाढी, पहिरो, डुबान, भूक्षय र गेग्रान बहावको जोखिम उच्च रहनेछ। यसले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र विभागबाट जारी हुने पछिल्ला मौसम सूचनामा नियमित अद्यावधिक रहन सबैलाई अनुरोध गरिएको छ।















