प्रहार समाचार । तनहुँ, ७ साउन २०८३ बिहीबार । तनहुँ–२ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलसँग आज भेट गरेका छन्। उनले तनहुँको भूमि प्रशासन कार्यालय र नापी कार्यालयको सेवा सुधार गर्न आग्रह गरेका हुन्। सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन मन्त्रालयस्तरीय सहजीकरणको माग गरिएको छ।सेवाग्राहीले भोग्दै आएका ढिलासुस्ती र झन्झट अन्त्य गर्न पनि सांसद न्यौपानेले जोड दिएका छन्।

भेटमा तनहुँका गुठी जग्गाका समस्या पनि उठाइएको थियो। गुठी ऐनमार्फत कानुनी सुधार गर्ने विषयमा छलफल भएको छ। सार्वजनिक जग्गामा बनेका बस्तीलाई कानुनी व्यवस्थापन गर्ने विषयमा पनि मन्त्रालय सकारात्मक देखिएको छ। बस्ती विकास ऐनमार्फत दीर्घकालीन समाधान खोज्ने तयारी गरिएको जनाइएको छ। भूमि, पूर्वाधार र कानुन मन्त्रालयबीच संयुक्त समन्वय गर्ने सहमति पनि बनेको छ।वर्षौंदेखि थाँती रहेका भूमि समस्या समाधानतर्फ पहल अघि बढ्ने अपेक्षा गरिएको छ।
भेटमा भूमिहीन सुकुम्वासी र दलित परिवारका लागि लालपुर्जा वितरणबारे पनि छलफल भएको छ। आगामी श्रावण महिनाको अन्तिम सातादेखि लालपुर्जा वितरण सुरु गर्ने तयारी रहेको जानकारी दिइएको छ। लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित नागरिकले अब कानुनी स्वामित्व पाउने विश्वास व्यक्त गरिएको छ। सांसद न्यौपानेले नागरिकको भूमि अधिकार सुनिश्चित गर्न आफ्नो पहल निरन्तर रहने बताएका छन् ।















