प्रहार समाचार । तनहुँ, ६ साउन २०८३ बुधबार । सार्वजनिक सडक, फुटपाथ र आवागमनमा अवरोध पुर्याउँदै वर्षौंदेखि मापदण्डविपरीत निर्माण गरिएका संरचनाप्रति अटेरी देखिएपछि व्यास नगरपालिकाले दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दै अन्तिम चेतावनी दिएको छ। नगरपालिकाले वडा नं. २, ३ र ४ का बजार क्षेत्रमा सडक पेटी अतिक्रमण गरी बनाइएका र्याम्प, सिँढी, टिनका छज्जा, सार्वजनिक बाटोमा अवरोध गर्ने व्यवसाय तथा सडकमा सिधै पानी खसाल्ने पाइप साउन १५ गतेभित्र सम्बन्धित घरधनी र व्यवसायीले आफैं हटाउन निर्देशन दिएको हो।

अन्यथा नगरपालिकाले कानुनअनुसार आफैं हटाएर आवश्यक कारबाही अघि बढाउने स्पष्ट चेतावनी दिएको छ। नगरपालिकाका अनुसार २०८३ जेठ २२ गते बसेको नगर कार्यपालिकाको २३८औँ नियमित बैठकको निर्णयअनुसार जेठ २५ गते नै पहिलो पटक ३५ दिने सूचना जारी गरिएको थियो। तर तोकिएको समयावधि बितिसक्दा पनि धेरैले अटेरी गर्दै मापदण्डविपरीतका संरचना नहटाएपछि साउन १ गते बसेको २४३औँ नियमित बैठकको निर्णय नं. ६ अनुसार दोस्रो पटक सूचना जारी गरिएको हो। नगरपालिकाले यसपटक यसलाई अन्तिम अवसरका रूपमा लिन आग्रह गरेको छ।
सडक पेटी पैदलयात्रीका लागि सुरक्षित हिँडडुल गर्ने सार्वजनिक सम्पत्ति भए पनि केही व्यक्ति र व्यवसायीले निजी स्वार्थका लागि अतिक्रमण गर्दा सर्वसाधारणले दैनिक सास्ती खेप्दै आएका छन्। त्यसमाथि सडकमै पानी खसाल्ने पाइप, अव्यवस्थित छज्जा र व्यवसाय सञ्चालनले दुर्घटनाको जोखिम बढाएको भन्दै नगरपालिकाले अब कानुन कार्यान्वयनमा कुनै सम्झौता नगर्ने संकेत दिएको छ। नगरपालिकाका इन्जिनियर अमृत के.सी.द्वारा जारी सूचनामा सबैलाई समयमै संरचना हटाएर सहयोग गर्न आग्रह गरिएको छ। सार्वजनिक हितविपरीत मापदण्ड मिच्ने प्रवृत्ति अन्त्य गर्नु स्थानीय सरकार मात्र होइन, प्रत्येक नागरिकको पनि साझा दायित्व हो।
कानुनले दिएको पर्याप्त समय र अवसरपछि पनि अटेरी गर्ने प्रवृत्तिले सुशासनमाथि नै प्रश्न उठाउने भएकाले अब नगरपालिकाले घोषणा गरेअनुसार निष्पक्ष र कठोर रूपमा कारबाही अघि बढाउनुपर्ने देखिन्छ। सार्वजनिक सडक कसैको निजी सम्पत्ति नभई सबै नागरिकको साझा अधिकार भएकाले मापदण्ड पालना गर्नु नै सभ्य र जिम्मेवार नागरिकको पहिचान हो।















