प्रहार समाचार । हेटौँडा, ६ साउन २०८३ बुधबार । बागमती प्रदेशमा झन्डै दुई वर्षदेखि कायम नेपाली कांग्रेस–नेकपा (एमाले) गठबन्धन औपचारिक रूपमा अन्त्य भएको छ। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी आफ्ना ६ मन्त्रीको सामूहिक राजीनामा बुझाएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार स्पष्ट रूपमा अल्पमतमा परेको छ।

सत्ता समीकरण फेरिने राष्ट्रिय राजनीतिक सहमतिले प्रदेश सरकारमा पनि प्रत्यक्ष प्रभाव पार्दै बागमतीको राजनीतिक समीकरण एकाएक बदलिएको हो। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियामार्फत मुख्यमन्त्री बानियाँलाई बुझाइएको पत्रमा संविधानको धारा १६८(२) अनुसार पार्टीको निर्णय र बदलिएको राजनीतिक परिस्थितिका आधारमा मन्त्रीहरूले तत्काल लागू हुने गरी राजीनामा दिएको उल्लेख गरिएको छ। राजीनामा दिनेहरूमा मधुसुदन पौडेल, डा. दिनेशचन्द्र देवकोटा, जयराम थापा, भरतबहादुर केसी, किरण थापा र बिन्दु श्रेष्ठ रहेका छन्। उनीहरूले आवश्यक संवैधानिक प्रक्रिया अगाडि बढाउन पनि आग्रह गरेका छन्।
प्रदेश सरकारको पुनःसंरचनाअन्तर्गत १४ मन्त्रालयलाई घटाएर ८ मा सीमित गरिएपछि केही मन्त्री बिनाविभागीय अवस्थामा पुगेका थिए। यद्यपि एमालेले सरकारबाट बाहिरिने निर्णयलाई मन्त्रालय पुनःसंरचनाभन्दा पनि राष्ट्रिय राजनीतिक समीकरणसँग जोडेको छ। एमाले नेतृत्वका अनुसार अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारहरूमा नयाँ सत्ता सहकार्यबारे भएको शीर्ष तहको समझदारीपछि मन्त्रीहरूलाई सरकार छाड्ने निर्देशन दिइएको हो।
एमालेको बहिर्गमनसँगै बागमती प्रदेश सरकारको भविष्य अब प्रदेश सभाको विश्वासको मतमा निर्भर बनेको छ। संविधानअनुसार मुख्यमन्त्री बानियाँले अब ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ। यदि विश्वासको मत प्राप्त गर्न नसके प्रदेशमा नयाँ सत्ता गठबन्धन गठनको प्रक्रिया अघि बढ्नेछ। यससँगै बागमतीको राजनीतिक केन्द्रबिन्दु अब सरकार टिकाउने वा नयाँ समीकरणमार्फत सत्ता गठन गर्ने प्रतिस्पर्धामा केन्द्रित भएको छ।















