हेडलाईनसमाचारगण्डकी

जिल्ला प्रशासनकै गेटअगाडि स्कुटर ठोक्दै भागेको ट्र्याक्टर मजुवा खोलामा खस्यो, बेँसीशहरमा सडक सुरक्षामाथि गम्भीर प्रश्न

• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, ६ साउन २०८३ बुधबार । जिल्ला प्रशासन कार्यालय लमजुङको मूल गेटअगाडि स्कुटरलाई ठक्कर दिएपछि नरोकी भागेको ट्र्याक्टर केही मिनेटमै बेँसीशहर–८ स्थित मजुवा खोला पुल नजिक दुर्घटनाग्रस्त भएको छ। आज करिब १२:१८ बजे भएको घटनाले बेँसीशहर बजारको सडक सुरक्षा र भारी सवारीसाधनको नियन्त्रणबारे गम्भीर प्रश्न उठाएको छ।

प्रशासन कार्यालयजस्तो संवेदनशील क्षेत्रमै ठक्कर दिएर भाग्ने प्रयास हुनु र त्यसक्रममा अर्को दुर्घटना हुनु सुरक्षा व्यवस्थामाथिको चिन्ताको विषय बनेको छ। प्रहरीका अनुसार ट्र्याक्टरले सुरुमा जिल्ला प्रशासन कार्यालयको गेटअगाडि गुडिरहेको स्कुटरलाई ठक्कर दिएको थियो। ठक्करपछि चालक सवारी नरोकी भागेका थिए। भाग्ने क्रममा बेँसीशहर–८ स्थित मजुवा खोला पुल नजिक पुगेपछि ट्र्याक्टरले सडक किनारमा पार्किङ गरी राखिएको मोटरसाइकललाई समेत ठक्कर दिँदै नियन्त्रण गुमाएर मजुवा खोलामा खसेको हो। घटनामा संयोगवश कुनै मानवीय क्षति नभए पनि स्कुटर, मोटरसाइकल र ट्र्याक्टरमा क्षति पुगेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले ट्र्याक्टर चालकलाई तत्काल नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ भने ट्र्याक्टर तीव्र गतिका कारण नियन्त्रण बाहिर गएको हो वा अन्य कुनै प्राविधिक समस्या थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। घटनाका सबै पक्षबारे विस्तृत छानबिनपछि थप विवरण सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

बेँसीशहरको मुख्य बजार क्षेत्रमा दिनदहाडै भएको यस घटनाले भारी सवारीसाधनको गति नियन्त्रण, ट्राफिक निगरानी र सडक अनुशासन प्रभावकारी बनाउनुपर्ने आवश्यकता फेरि उजागर गरेको छ। स्थानीयवासीले बजार क्षेत्रमा भारी सवारीसाधनको आवागमन व्यवस्थापन, नियमित ट्राफिक अनुगमन र नियम उल्लङ्घन गर्ने चालकमाथि कडा कारबाहीको माग गर्दै यस्ता लापरवाही दोहोरिन नदिन सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button