प्रहार समाचार । काठमाडौं, ६ साउन २०८३ बुधबार । अर्जेन्टिनाका कप्तान लियोनेल मेसी सन् २०२६ को पुरुष विश्वकपका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। ‘इन्टरनेसनल फेडरेसन अफ फुटबल हिस्ट्री एन्ड स्ट्याटिस्टिक्स’ (IFFHS) ले विश्वकपमा गरेको समग्र प्रदर्शनको मूल्यांकनका आधारमा मेसीलाई प्रतिष्ठित ‘IFFHS Best Player’ सम्मान प्रदान गरेको जनाएको छ ।

आईएफएफएचएसका अनुसार उक्त सम्मान खेलाडीको प्रदर्शन सूचकांकका आधारमा निर्धारण गरिएको हो। मूल्यांकनका क्रममा मैदानमा बिताएको समय, गोल, एसिस्ट तथा विशेषगरी नकआउट चरणमा टोलीको सफलतामा खेलेको निर्णायक भूमिकालाई तथ्यांकमा आधारित मापदण्डमार्फत विश्लेषण गरिएको संस्थाले जनाएको छ।
विश्वकप अभियानमा मेसीले अर्जेन्टिनाका लागि सबै ७ खेल खेल्दै कुल ६२६ मिनेट मैदानमा बिताएका थिए। यस अवधिमा उनले ८ गोल गरेका थिए भने ४ गोलका लागि एसिस्ट प्रदान गरेका थिए। यससँगै उनले प्रतियोगिताभर १२ गोलमा प्रत्यक्ष योगदान पुर्याएका थिए। उनको औसत म्याच रेटिङ ८.३३ रहेको उल्लेख गर्दै समूह चरणदेखि फाइनलसम्म कायम राखेको उत्कृष्ट प्रदर्शन नै उपाधिको प्रमुख आधार बनेको आईएफएफएचएसले जनाएको छ।
आईएफएफएचएसले विशेषगरी नकआउट चरणमा मेसीले देखाएको प्रभावशाली प्रदर्शनलाई उच्च प्राथमिकताका साथ मूल्यांकन गरिएको स्पष्ट पारेको छ। तथ्यांक, प्रदर्शन सूचकांक र निष्पक्ष अभिलेखका आधारमा गरिएको विश्लेषणपछि मेसी विश्वकप २०२६ का सबैभन्दा उत्कृष्ट खेलाडीका रूपमा स्थापित भएको संस्थाले जनाएको छ।















