प्रहार समाचार । तनहुँ, ६ साउन २०८३ बुधबार । तनहुँ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवाग्राहीले घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रविधिमैत्री, सरल र छरितो सेवा प्रवाह लागू गर्नुपर्ने प्रस्ताव राखेका छन्। तनहुँका सम्पूर्ण कार्यालय प्रमुखहरूको बैठकमा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीसमक्ष उनले प्रशासनिक सेवा सुधारका लागि यस्तो प्रस्ताव राखेको जानएका छन् । न

सांसद न्यौपानेले अब सेवाग्राहीले विगतजस्तो सास्ती भोग्न नपर्ने विश्वास व्यक्त गरेका छन्। उनले नागरिकलाई सहज, छिटो र झन्झटरहित सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयमा डिजिटल प्रणाली, व्यवस्थित सेवा व्यवस्थापन र प्रभावकारी कार्यशैली लागू गर्नुपर्नेमा जोड दिएका छन्। ‘सेवा प्रवाहलाई समयानुकूल र नागरिकमैत्री बनाउन सम्बन्धित निकायले ढिलाइ नगरी आवश्यक निर्णय र कार्यान्वयनमा जानु पर्छ ।’ न्यौपानेले भने ।

यद्यपि जिल्ला प्रशासन कार्यालयमा लामो समयदेखि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत सेवाका लागि सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अव्यवस्था र ढिलासुस्तीको समस्या दोहोरिँदै आएको गुनासो रहँदै आएको छ। यस्तो अवस्थामा सांसदको प्रस्ताव व्यवहारमै लागू हुन्छ कि फेरि आश्वासनमै सीमित हुन्छ भन्ने प्रश्न नागरिक तहमा उठ्न थालेको छ। सांसद न्यौपानेले सुधारको प्रतिबद्धता जनाए पनि यसको वास्तविक परीक्षा भने कार्यान्वयनमै हुने देखिन्छ। नागरिकले अब भाषण र प्रतिबद्धता होइन, सहज, छरितो र प्रविधिमैत्री सेवा चाहेका छन्। त्यसैले सम्बन्धित निकायले प्रस्तावलाई कागजमा सीमित नराखी तत्काल कार्यान्वयनमा लैजान सके मात्र प्रशासनप्रतिको नागरिकको विश्वास बलियो बन्नेछ।















