प्रहार समाचार । तनहुँ, ६ साउन २०८३ बुधबार । बिहानको समयमा बढ्दै गइरहेको सवारी दुर्घटनालाई नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा पोखरा–मुग्लिङ सडकखण्डमा विशेष चालक सचेतना अभियान सञ्चालन गरेका छन्। आज बिहान ४ बजेदेखि सुरु गरिएको अभियानअन्तर्गत चालकहरूलाई सडक सुरक्षासम्बन्धी जानकारी दिँदै ट्राफिक नियमको कडाइका साथ पालना गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरीका अनुसार अभियानका क्रममा चालकहरूलाई सडकको वर्तमान अवस्था, लेन अनुशासनको महत्त्व, सुरक्षित गति, ओभरटेक गर्दा अपनाउनुपर्ने सावधानी तथा ट्राफिक नियम उल्लङ्घन गर्दा हुने जोखिमबारे सम्झाइबुझाइ गरिएको थियो। विशेषगरी बिहानको समयमा निद्रा, थकान र लापरबाहीका कारण दुर्घटनाको जोखिम बढी हुने भएकाले सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।

आजको अभियानमा दुई पाङ्ग्रे २८ वटा, चार पाङ्ग्रे साना सवारी ३६ वटा र ठूला सवारी ८९ वटा गरी कुल १५३ वटा सवारी साधनका चालकलाई प्रत्यक्ष रूपमा सचेतना प्रदान गरिएको छ। पोखरा–मुग्लिङ सडकखण्डमा दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने भएकाले चालकको जिम्मेवारी र अनुशासनले दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रहरीको विश्वास छ।




जिल्ला प्रहरी कार्यालय तनहुँले सडक सुरक्षा प्रवर्द्धनका लागि यस्ता सचेतनामूलक कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ। साथै, सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्दै सुरक्षित, संयमित र जिम्मेवार ढंगले सवारी चलाउन आग्रह गर्दै दुर्घटना न्यूनीकरणमा सबै पक्षको सहकार्य आवश्यक रहेको प्रहरीले उल्लेख गरेको छ।















