हेडलाईनसमाचारगण्डकीबागमती

आजको मौसम : गण्डकी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना च, बाढी–पहिरोको उच्च जोखिम कायमै

प्रहार समाचार । काठमाडौं, ६ साउन २०८३ बुधबार । जल तथा मौसम विज्ञान विभागले गण्डकी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्रसहित कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

देशभर मनसुनी वायु सक्रिय रहँदा अधिकांश क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने र केही स्थानमा वर्षा तीव्र हुने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकीका केही स्थानमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ।महाशाखाले बुधबार दिनभर र रातिको मौसम विश्लेषण गर्दै पहाडी र हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने जनाएको छ। तराईका विभिन्न क्षेत्रमा पनि वर्षा हुने सम्भावना रहेकाले नदी–नाला आसपास, पहिरो प्रभावित सडक र जोखिमयुक्त बस्तीमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा जारी रहने सम्भावना रहेको पूर्वानुमान छ।विभागले भारी वर्षाका कारण गेग्रान बहाव, आकस्मिक बाढी, पहिरो र भूक्षयको जोखिम बढ्ने चेतावनी दिँदै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने जनाएको छ। जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिक, यात्रु तथा सम्बन्धित निकायलाई मौसमसम्बन्धी पछिल्लो सूचना नियमित रूपमा अद्यावधिक गर्दै आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button