हेडलाईनसमाचारगण्डकी

‘सानो लापरबाहीले गाडी भीरमा खस्यो’ : दुर्घटनापछि मर्स्याङ्दी अध्यक्ष गुरुङको चेतावनी– ‘अब सडक सुरक्षा अभियानमा सक्रिय हुन्छु’

• विजय अधिकारी (प्रहार संवाददाता) लमजुङ, ३ साउन २०८३ आइतबार । । मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले आफू सवार बोलेरो जिप दुर्घटनामा पर्नुको कारण गाडीभित्र रहेको मिनरल वाटरको कार्टुन चालक सिट नजिक खस्दा त्यसलाई हटाउने प्रयास भएको बताएका छन्। शनिबार बिहान १० बजे एउटा कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको दुर्घटनाबारे सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गुरुङले गाडी गुडिरहेका बेला पानीको कार्टुन चालकतर्फ झरेपछि त्यसलाई पछाडि धकेल्न खोज्दा नियन्त्रण गुमेर गाडी सडकबाट तल खसेको उल्लेख गरेका छन्।

गाडी एक पटक ठोक्किएपछि आफूले बलियोसँग स्टेरिङ समाते पनि त्यसपछि गाडी पटक–पटक पल्टिँदै तल पुगेको उनले बताएका छन्। दुर्घटनामा गम्भीर चोटबाट भने आफू जोगिएको उल्लेख गर्दै गुरुङले घटनास्थलमा उद्धारमा खटिएका स्थानीयवासी, प्रदेश अस्पताल बेंसीसहरका स्वास्थ्यकर्मी तथा काठमाडौंमा उपचारमा संलग्न डा. चक्रराज पाण्डे, दक्ष पौडेलसहितको चिकित्सक टोलीप्रति आभार व्यक्त गरेका छन्। चिकित्सकको पछिल्लो रिपोर्टअनुसार मेरुदण्डको एउटा सानो हड्डी सामान्य रूपमा लच्किएको भए पनि शल्यक्रिया आवश्यक नरहेको र केही समय सपोर्टसहित आराम गर्नुपर्ने सुझाव दिइएको उनले जानकारी दिएका छन्। हाल उनी काठमाडौंस्थित निवासमा चिकित्सकको निगरानीमा आराम गरिरहेका छन्।

दुर्घटनापछि गुरुङले सडक सुरक्षाबारे गम्भीर सन्देश पनि दिएका छन्। सवारी चलाउँदा हुने सानो लापरबाहीले पनि ज्यानै जाने वा अपूरणीय क्षति हुने दुर्घटना निम्त्याउन सक्ने भएकाले अत्यधिक सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन्। आफूले बाँकी जीवन सडक दुर्घटना न्यूनीकरणका लागि सक्दो पहल र जनचेतना फैलाउने प्रण गरेको उल्लेख गर्दै हतार, तनाव र कमजोर समय व्यवस्थापनले पनि दुर्घटना निम्त्याउने भएकाले त्यसतर्फ सबै सचेत हुनुपर्ने बताएका छन्।दुर्घटनापछि प्रत्यक्ष भेट, फोन र सन्देशमार्फत शीघ्र स्वास्थ्यलाभको कामना गर्ने शुभेच्छुकप्रति आभार व्यक्त गर्दै गुरुङले जनताबाट पाएको माया र साथले आफूलाई थप ऊर्जा दिएको बताएका छन्। सामाजिक सेवाप्रतिको जिम्मेवारी अझ बढेको अनुभूति भएको उल्लेख गर्दै उनले स्वास्थ्य लाभपछि पुनः जनताको सेवामा सक्रिय रूपमा फर्किने प्रतिबद्धता व्यक्त गरेका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button