प्रहार समाचार । चितवन, ३ साउन २०८३ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलबिरेम आज बिहान भएको सडक दुर्घटनामा दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

व्यस्त राजमार्गमा भएको दुर्घटनाले केही समय यातायातसमेत प्रभावित बनेको थियो।प्रहरीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ गइरहेको यात्रुवाहक बसले सोही दिशातर्फ अघि बढिरहेको ट्रकलाई उछिन्ने प्रयास गर्दा विपरीत दिशाबाट आइरहेको अर्को बससँग ठोक्किएको हो। तीव्र गतिसँगै गरिएको जोखिमपूर्ण ओभरटेकका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ३० जनामध्ये २१ जनाको चितवन मेडिकल कलेज र नौ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गम्भीर घाइतेको अवस्था चिकित्सकको निगरानीमा रहेको छ भने अन्य घाइतेहरूको उपचार जारी छ। दुर्घटनापछि सडकमा केही समय सवारी आवागमन अवरुद्ध भएको थियो। प्रहरी, स्थानीयवासी र उद्धार टोलीको सक्रियतामा दुर्घटनाग्रस्त सवारी हटाइएपछि राजमार्ग पुनः सञ्चालनमा आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















