• विजय अधिकारी (प्रहार संवाददाता) सिन्धुली, ३ साउन २०८३ आइतबार । । नेपालको राष्ट्रिय स्वाधीनता, वीरता र युद्धकौशलको अमिट इतिहास बोकेको सिन्धुलीगढी आज पनि आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख आकर्षण बनेको छ। समुद्री सतहबाट करिब ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो ऐतिहासिक स्थल काठमाडौंबाट करिब १५० किलोमिटर पूर्वमा अवस्थित छ।

बनेपा–बर्दिबास जोड्ने बीपी राजमार्ग सञ्चालनमा आएपछि पहिले दुर्गम मानिने सिन्धुलीगढी अहिले सहज पहुँचमा पुगेको छ। प्राकृतिक सौन्दर्यसँगै नेपालको एकीकरण अभियानको गौरवशाली इतिहास बोकेको यो क्षेत्र राष्ट्रिय सम्पदाका रूपमा परिचित छ।सिन्धुलीगढीको सबैभन्दा ठूलो परिचय वि.सं. १८२४ (सन् १७६७) मा भएको ऐतिहासिक युद्ध हो। काठमाडौंका तत्कालीन राजा जयप्रकाश मल्लको आग्रहमा क्याप्टेन जर्ज किनलकको नेतृत्वमा आएको ब्रिटिस ईस्ट इन्डिया कम्पनीको सेनालाई गोर्खाली सेनाले यही गढीमा निर्णायक रूपमा पराजित गरेको थियो।

सरदार बाँशु गुरुङसहितका नेपाली सेनापतिहरूको नेतृत्वमा भएको उक्त विजयले ब्रिटिस सेनाको काठमाडौं प्रवेशको योजना विफल बनाएको मात्र होइन, नेपालको एकीकरण अभियानलाई सफल बनाउन निर्णायक योगदान दिएको इतिहासले पुष्टि गरेको छ।युद्धका क्रममा नेपाली सेनाले गुरिल्ला शैली अपनाउँदै गढीको भौगोलिक बनावटलाई प्रभावकारी रूपमा प्रयोग गरेको विवरण संग्रहालयमा सुरक्षित छ।

तोप, ढुंगा–मुढा, बङ्कर, आक्रमणका लागि बनाइएका दुर्ग तथा प्राकृतिक स्रोतको उपयोग गर्दै नेपाली सेनाले अत्याधुनिक हतियारसहित आएको ब्रिटिस सेनालाई परास्त गरेको इतिहास अहिले पनि संग्रहालयमा जीवित छ। अरिङ्गालको गोलामा ढुंगा प्रहार गरी अरिङ्गाललाई जिस्क्याएर शत्रुमाथि आक्रमण गराइएको तथा भाग्ने क्रममा सिस्नो र अल्लोले समेत बेलायती सैनिकलाई थप सास्ती दिएको विवरणले नेपाली सेनाको असाधारण युद्ध रणनीति झल्काउँछ।नेपालकै पहिलो युद्ध संग्रहालयका रूपमा स्थापित सिन्धुलीगढी युद्ध संग्रहालयमा युद्धका बेला प्रयोग भएका तोप, तरबार, हतियार, गोर्खाली सैनिकका पोशाक, ऐतिहासिक नक्सा, तस्बिर तथा उत्खननका क्रममा फेला परेका सामग्री सुरक्षित रूपमा प्रदर्शन गरिएको छ।

आधुनिक शैलीमा निर्माण गरिएको संग्रहालयको भवन ऐतिहासिक किल्लाको स्वरूपमा तयार गरिएको छ भने सेनाले प्रयोग गरेको इनार, ढुंगा खोपेर बनाइएको पानी ट्याङ्की, बङ्कर तथा तोप प्रहार गर्ने स्थानसमेत संरक्षण गरेर अवलोकनका लागि खुला राखिएको छ।




वि.सं. १९७५ मा कर्णेल कीर्तिमान खत्रीको नेतृत्वमा निर्माण गरिएको १४ ढोका र ५६ झ्याल भएको ऐतिहासिक गढी दरबार पुनर्निर्माणपछि थप आकर्षक बनेको छ। दरबारको अवलोकन गर्दा चर्चित लोकगीत “सिन्धुलीगढी घुमेर हेर्दा, सुन्तली माई कति राम्रो दरबार” को सम्झना स्वतः ताजा हुन्छ। गढी दरबार, युद्ध संग्रहालय, ऐतिहासिक किल्ला र युद्ध स्मारकले सिन्धुलीगढीलाई नेपालको वीरताको जीवित दस्तावेजका रूपमा स्थापित गरेका छन्।

इतिहास, राष्ट्रिय स्वाभिमान र प्राकृतिक सौन्दर्यलाई एकै ठाउँमा अनुभूति गर्न चाहनेका लागि सिन्धुलीगढी उत्कृष्ट गन्तव्य बनेको छ। नेपाली सेनाले विदेशी शक्तिलाई पराजित गर्दै राष्ट्रिय अस्तित्व जोगाएको यो भूमि आज पनि नयाँ पुस्तालाई इतिहाससँग साक्षात्कार गराउने खुला पाठशालाका रूपमा उभिएको छ। पर्यटन प्रवर्द्धनसँगै यस ऐतिहासिक सम्पदाको संरक्षण र प्रचारप्रसारलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता स्थानीयवासी तथा सरोकारवालाले औंल्याएका छन्। (सिन्धुलीबाट फर्केपछि हाम्रा लमजुङ संवाददाता विजय अधिकारीले यो रिपोटिङ गरेका हुन् ) सम्पादक















